निलम्बित प्रमुख लोकमान सिंह कार्कीले :भारतका प्रधानमन्त्री मोदीलाई फोन गरेर गुहार मागे

Lok_Man_Singh_Karki_CIIA_Chief11.jpg

अख्तियार अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीले हिजो शुक्रबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा सम्पर्क गरी सहयोग मागेको अख्तियार स्रोतले जनाएको छ। अख्तियार सम्वद्ध विश्वसनीय स्रोतका अनुसार कार्कीले दिउँसो साढे १२ बजे भारतीय दूताबासका अधिकारी र नेपाल प्रहरीका केही अधिकृतको सहयोगमा आफ्नो निवास नजिकैबाट मोदीसँग टेलिफोनमा सम्पर्क गरेको र आफू अफ्ठेरो परिस्थतिबाट बाहिर आउन प्रयास गरिरहेको बताएका थिए।

स्रोतका अनुसार कार्कीलाई सहयोग गरिरहेका नेपाल प्रहरीका केही अधिकारीले कार्कीलाई दिल्ली सम्पर्क गर्दा कल रेकर्ड नहुने मोवाइल नम्बर उपलब्ध गराएका थिए भने काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीले मोदीसँग सम्पर्क मिलाएका थिए। मोदीसँगको छोटो कुराकानीमा कार्कीले ‘अप्ठेरो परिस्थितिमा सहयोग गर्न’ भन्दै गुहार मागेको स्रोतको दाबी छ।

बुधबार बेलुकी संसदमा आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएकै दिन नेपाल फर्केका कार्की दिल्ली भएर काठमाडौँ उत्रिएको समेत खुल्न आएको छ। ‘क्यानडाबाट केही दिन सम्पर्कमा नआएका कार्की दिल्लीमा आएर सत्तारुढ भारतीय जनता पार्टीका नेता तथा सरकारी अधिकारीहरुसँग छलफल गरी नेपाल फर्केका रहेछन्’, अख्तियार स्रोतले भन्यो, ‘दिल्लीमा कार्कीले मोदीसँग भेटघाट गर्न प्रयास गरे पनि सफल भएनछन्।’

काठमाडौँमा भारतीय राजदूत रन्जित रे लोकमानलाई महाअभियोगबाट बचाउन सक्रिय रुपमा लागेका छन्। राजदूतको सक्रियता हेर्दा लोकमान प्रकरणमा दिल्लीको चासो बढेको देखिन्छ र त्यही सन्दर्भमा प्रधानमन्त्री मोदीसँग समेत कार्कीको सम्पर्क गराइएको हुनसक्ने एमालेका एक सांसदले बताए।

कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएसँगै राजदूत राय दलका नेताहरुलाई भेट्न सक्रिय भएका छन्। बालुवाटार स्रोतका अनुसार बिहिबार मात्र राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक भेटघाट गरेका थिए। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवादेखि नेकपा एमालेका नेताहरुलाई समेत रेले भेटेका छन्। उच्च भेटवार्तामा रेले कार्कीलाई जोगाउन प्रयास गरिरहेको बताइएको छ।

यसमा तपाईको प्रतिक्रिया