लोकमान कार्कीविरुद्ध महाअभियोगबारे देउवालाई प्रचण्डको यस्तो जवाफ

deuwa-prachanda6
काठमाडौं, ७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे साझा धारणा बनाउन सत्तारुढ माओवादी केन्द्र र कांग्रेस छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको छ ।

सत्तासाझेदार दलहरुको साझा धारणा बनाएर महाअभियोग प्रस्तावलाई अगाडि बढाउने विषयमा केन्द्रित रही छलफल भएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले बताए । ‘संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावबारे सत्तारुढ दलबीच साझा धारणा बनाएर जाने विषयमा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाबीच छलफल भयो,’ उनले भने, ‘केही दिनभित्रै कांग्रेससहितका सत्ता गठबन्धन दलको एउटै मत बनाउने प्रयास हुनेछ ।’

दुई नेताबीचको छलफलमा प्रधानमन्त्रीले महाअभियोग प्रस्तावको पक्षमा एक भएर जान प्रस्ताव गरेका थिए । देउवाले भने यस विषयमा केही समय लिएर निर्णयमा पुग्नुपर्ने भएकाले कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक पर्खन आग्रह गरेका थिए ।

‘महाअभियोग प्रस्तावबारे छलफल गर्न प्रधानमन्त्रीले सभापतिलाई बोलाउनुभएको थियो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘सभापतिले प्रस्तावबारे केन्द्रीय समितिमा छलफल हुँदै छ, संसदीय दलमा पनि छलफल हुन्छ र महाअभियोग प्रस्ताव समितिले पनि काम गर्दै छ भन्नुभएको छ ।’

दुई नेताबीच आधा घन्टा छलफल चलेको थियो । प्रधानमन्त्री र देउवाबीच सत्तासाझेदार दलबीच दूरी नबढ्ने गरी जानुपर्ने विषयमा कुराकानी भएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया