अपहरणकारीको फरार सूचीमा रहेका पूर्वमन्त्रीलाई प्रधानमन्त्रीको संरक्षण, साथमा बडीगार्ड पनि

police-7

काठमाडौं, ७ कात्तिक । प्रहरीको रेकर्डमा पूर्वशान्तिमन्त्री विश्वनाथप्रसाद साह अपहरण घटनाका फरार आरोपित हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहामा दर्ता भएको जाहेरीका आधारमा उनीविरुद्ध ७५ वटै जिल्ला प्रहरी कार्यालयमा खोजतलासको पत्र पुगेको एक महिना नाघिसक्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

फरार भनिएका साह भने प्रहरीकै सुरक्षामा राजधानीमै छन् । माओवादी केन्द्रका नेतासमेत रहेका साहलाई पूर्वमन्त्रीको हैसियतमा सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयले अंगरक्षक गणका प्रहरी हवल्दार वीरबहादुर गोलेलाई खटाएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानका इन्जिनियर देवानन्द मण्डलको जाहेरीका आधारमा सिरहा प्रहरीले साहसहित माओवादी केन्द्रका चार जना नेताविरुद्ध अपहरण तथा शरीर बन्धकमा जाहेरी दर्ता गरेको छ ।

मैनाबती नदी नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय लहानले छुट्टयाएको ५० लाख बजेट खर्चको विषयमा मण्डल र साहबीच विवाद बढेको थियो ।

छलफल गर्ने भन्दै साहलगायत माओवादी केन्द्रका नेताले गत भदौ ४ आफूलाई अपहरण गरी जबर्जस्ती ५ लाखको कागजमा हस्ताक्षर गराएको भन्दै इन्जिनियर मण्डलले प्रहरीमा जाहेरी दिएका थिए ।

मण्डलको दाबीअनुसार पूर्वमन्त्री साहले आफ्नो घर बोलाएर हतियार देखाई बन्धक बनाएर कागज गर्न लगाएका थिए ।

मण्डलको निवेदनका आधारमा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले प्रहरीमा निवेदन दिएको थियो ।

घटनाबारे भदौ ८ गते जाहेरी आएपछि प्रहरीले दर्ता गरी उनको खोजीका लागि साहसहित माओवादी केन्द्रका नेता रामकुमार यादव, श्रवण यादव, शिवकुमार कापरको तीनपुस्ते विवरण उल्लेख गरी ९ गते प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।

सिरहाको पत्रका आधारमा प्रहरी प्रधान कार्यालयबाट सबै जिल्ला प्रहरी कार्यालयमा साहलगायतको खोजतलास गर्न पत्र सर्कुलर भइसकेको छ ।

एक महिना बित्दा पनि आफ्नै संगठनको सदस्यको सुरक्षा घेरामा रहेका साहलाई प्रहरीले फेला पारेको छैन ।

प्रधान कार्यालयको रेकर्डअनुसार ‘अपहरणका फरार’ सूचीमा रहेका साहको सुरक्षामा अहिले उनै गोले खटिएका छन् ।

स्रोतका अनुसार साह र गोले दुवै राजधानीमा छन् । साह काठमाडौं नयाँ बानेश्वरको संगमचोक क्षेत्रमा बस्ने गरेका छन् । बडिगार्ड सँगै भए पनि साह संगठनको सूचीमा भने अझै फरारै छन् ।

आफ्नो दलको नेताविरुद्ध प्रहरीमा परेको जाहेरी निष्क्रिय बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा गृहमन्त्री निधिले प्रहरीलाई निर्देशन दिँदा विवाद बढेको थियो ।

अनुसन्धान प्रक्रिया अगाडि नबढाउन आफूले दिएको निर्देशन नमानेको भन्दै गृहमन्त्री निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले गत सोमबार सिरहाका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीलाई पेसीमा मन्त्रालय झिकाएका थिए ।

अपराधमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन गृहमन्त्रीले दबाब दिएको सार्वजनिक भएसँगै आलोचना बढेपछि गृहले ज्ञवालीलाई सिरहामै पठाउन निर्देशन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी ज्ञवालीले मण्डलको जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरू फेला नपरेपछि खोजीका लागि प्रधान कार्यालयमा पत्र पठाएको जानकारी दिए ।

यसमा तपाईको प्रतिक्रिया