अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव आज संसदमा प्रवेश हुने

काठमाडौं, ७ कार्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव आज व्यवस्थापिका संसदमा प्रवेश हुने भएको छ । संसदको बैठक विहान ११ बजे बोलाइएको छ । र, आजको बैठकमा महाअभियोग प्रस्तावले प्रवेश पाउने संसद सचिवालय स्रोतले बताएको छ ।
आजको बैठकमा सभामुख ओनसरी घर्ती मगरले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने कार्यसूची रहेको छ । यस अघि बिहीबारकै बैठकमा महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गर्ने योजना थियो । तर, प्रमुख दलहरुले छलफलका लागि समय भागेको भन्दै संसद बैठक आज सम्मकालागि स्थगित गरिएको थियो । संसद सचिवालयका अधिकारीहरुका अनुसार सभामुखले भोलिरपर्सीबाटै छलफल गराउन सक्नेछिन् ।

प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइनेछ, जुन हालै गठन भएको छ । यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हुन्छन् ।

 सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्की्विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने यसबारे धारणा बनाइसकेको छैन । उसको केन्द्रीय समिति बैठकमा युवा नेताहरुले महाअभियोग प्रस्तावको पक्षमा उभिन नेतृत्वलाई दबाव दिएका छन् ।

तर, कुनै निर्णय नगरी सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ । कांग्रेसको नेतृत्वले अख्तियार प्रमुख कार्कीलाई राजीनामा गराउने मध्यमार्गी विकल्पबारे समेत छलफल गरेका छन् । माओवादीले यसबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । एमालेले संस्थागत निर्णय नगरेपनि महाअभियोगको पक्षमा उभिएको छ । मधेस केन्द्रीय दलहरुले भने यसलाई संविधान संशोधनको आफ्नो मागलाई ओझेलमा पर्ने प्रयासका रुपमा हेरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया