कर्मचारीले नै बुझेनन् प्रधानमन्त्रीको सम्बोधन, सोध्छन्- बस चलाउने कता हो?

dahal-sambodhan
काठमाडौँ कात्तीक ७  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले गएको भदौ २३ गते संसदमा सम्बोधन गर्दै भनेका थिए, ‘छ महिनाभित्र एक सय वटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगन्ज, भरतपुर, बुटवल, नेपालगन्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत सञ्चालन गरिनेछ।’

यो सम्बोधन भएको डेढ महिना बित्यो तर गाडी संचालनका लागि सिन्कोसम्म भाँच्ने काम भएको छैन। गाडी सञ्चालनको प्रक्रिया अगाडि बढाउनुको साटो कर्मचारी प्रधानमन्त्रीको सम्बोधन अस्पष्ट भन्दै हात बाँधेर बसेको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बोधन नबुझेको भन्दै प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ। मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्रीको संबोधनमा लामो दूरी वा नगरपालिकाभित्र संचालन गर्ने स्पस्ट नभएकोले काम अघि नबढेको हो।

उनले भने, ‘बस सञ्चालन गर्ने काम अहिलेसम्म हाम्रो क्षेत्राधिकारमा नपरेकाले हामीलाई थाहा नभएको हुनसक्छ। तर कहाँ चलाउने भन्ने स्पष्ट रुपमा हामीलार्इ जानकारी हुनुपर्‍यो।’

यता प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मी भने बस चलाउने खाका स्थानीय विकास मन्त्रालयले नै तयार गर्नुपर्ने बताउँछन्।

‘प्रधानमन्त्रीको भाषण, निर्देशन र नीति मार्गदर्शन मात्र हो’ ,उनले भने, ‘लामो दूरीमा चलाउने कि नगरपालिकाभित्र सञ्चालन गर्ने भन्ने योजना तयार पार्ने जिम्मा मन्त्रालयको हो।  सम्बोधन नबुझेकै हो भने हामी छलफल गरेर बुझाउन तयार छौं।’

लामो दुरीमा सञ्चालन गर्ने कुरा व्यवहारिक नभएको र सुरुवातमा एक सय वटा बस नगरपालिका भित्रै चलाउन उपयुक्त हुने रेग्मीले बताए। ‘सुरुमा नगरपालिकामा चलाएर परीक्षण सफल भएमा लामो दुरीमा जान सकिन्छ’, उनले भने।

सय बसका लागि ५१ करोड रुपैयाँ लाग्ने अनुमान

साझा यातायातले जस्तै अपाङ्ग मैत्री र सुविधासम्पन्न एक सय बस खरीद गर्न ५१ करोड रुपैयाँ लाग्ने देखिएको छ। सहसचिव श्रेष्ठका अनुसार सय वटा लामा र स्तरीय बस खरीदका लागि ५१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

‘हामीले साझा यातायात र महानगरपालिकाद्वारा सञ्चालित बसहरु सरह लाग्ने खर्चलाई आधार मानेर प्रत्येक बसको  ५१ लाख रुपैयाँ पर्ने अनुमान गरेका छौं’ ,उनले भने, ‘ यो रकम अर्थ मन्त्रालयबाटै माग्ने हो।’

यसमा तपाईको प्रतिक्रिया