“९ गते सम्म म ज्युदै रहे महाअभियोग प्रस्ताव पारित हुन्छ”- महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाही

काठमाडौं, ७ कात्तिक–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँग कुरा गर्दै महाअभियोग प्रस्तावका प्रस्तावक शाहीले प्रस्ताव दर्ता भएदेखि नै आफूलाई धम्की आएको खुलाए ।

उनले भने, ‘यो प्रस्ताव दर्ता भइसकेपछि धम्कीहरु आएका छन् नआएका होइनन् । ९ गतेसम्म मलाई मारिएन भने यो प्रक्रिया अगाडि बढ्छ ।’ धम्की आएपनि महाभियोग प्रस्तावलाई जसरी पनि अघि बढाउने बताउँदै शाहीले भने, ‘मृत्यु जितेर आएको हुनाले सानोतिनो दबावले डगमगाउनेवाला छैन ।’

शाहीले कांग्रेससहित तीन दलीय सहमति गर्न लागेको भए महाअभियोग प्रस्ताव आउनै नपाउने भएकाले छापामार शैलीमा पेश गर्नुपरेको पनि बताएका छन् ।

कुरा चुहिएर महाअभियोग दर्ता हुनुअघि नै लोकमानले प्रतिशोध साँध्ने तयारी गरेकाले आफ्नै सांसदलाई पनि झुक्याउनुपरेको उनले बताए । ‘महाअभियोग लगाउनुपर्छ भन्नेमा सबै सांसदहरु अहिले पनि सहमत हुनुहुन्छ । उहाँहरुको गुनासो जानकारी दिइएन भन्ने हो, जानकारी दिएको भए प्रस्ताव दर्ता हुनै पाउने थिएन, खेल अर्कै भइसक्ने थियो,’ उनले भने ।

दशैंअघि विदेश भ्रमणमा गएका कार्कीले फर्केर आएपछि परिवर्तनका पक्षमा लडेका शीर्ष नेताहरुलाई जेल हाल्ने ‘प्लानिङ’ गरेकाले उनी विरुद्ध महाभियोग प्रस्ताव ल्याइएको शाहीले दावी गरे । ‘लोकमानले फर्केर आएपछि परिवर्तनको पक्षमा लडेका शीर्ष नेतालाई जेल हाल्ने ‘प्लानिङ’ गरेका थिए । त्यो सूचना पाएपछि उनीविरुद्ध महाभियोग अघि बढाइएको हो,’ उनले भने ।

यसमा तपाईको प्रतिक्रिया