ओली र प्रचण्डबीच सम्बन्ध सुधार सरकार ढल्ने खतरा : कांग्रेस सभापति देउवा चिन्तित

kp-oli-prachanda-750x410
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्धमा सुधार आउन थालेको छ ।

ओली नेतृत्वको सरकारलाई दिएको समथर्न फिर्ता लिएर प्रचण्डले कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गरेपछि यी दुईबीचको सम्बन्ध बिग्रिएको थियो ।

साथै प्रतिपक्षी नेताका हैसियतले सहभागी हुनुपर्ने महत्वपूर्ण बैठकमा समेत ओलीले अरु नेतालाई नै पठाउने गरेका थिए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका १५७ सांसद मिलेर महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रचण्ड र ओलीबीच दिनहुँ भेटघाट तथा छलफल हुन थालेको हो ।

यी दुई नेताबिच आइतबार पनि संसद भवन नयाँ बानेश्वरमा भेट भएको र भेटमा अख्तियार प्रमुख कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमा कांग्रेसको समेत समर्थन कसरी जुटाउने भन्ने विषयमा छलफल भएको स्रोत जनाएको छ ।

यसअघि सम्बन्ध बिग्रिएकै कारण सार्वजनिक मञ्चबाट समेत ओलीले दाहालको चर्कोे आलोचना गर्दै आएका थिए ।

देउवा चिन्तित

ओली र प्रचण्डको सम्बन्ध सुधार हुँदा यता कांग्रेस सभापति शेरबहादुर देउवा सरकार ढल्ने होकि भन्ने शंका गर्न थालेका छन् । देउवा निकट नेताहरुका अनुसार उनी आजभोलि लोकमानभन्दा पनि सरकारका विषयलाई लिएर चिन्तित छन् ।

यसमा तपाईको प्रतिक्रिया