माओबादी निकटको आरोप लाग्ने गरेका एमाले उपाध्यक्ष गौतमले गरे सनसनीपूर्ण खुलासा: “महाअभियोग प्रस्ताब एमालेले हैन माओबादीले नै ल्याएको हो”(भिडियो हेर्नुहोस)

bamdev-emaleबुटवल : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउने प्रस्ताव माओवादी केन्द्रकै भएको खुलासा गरेका छन्।

आइतबार प्रेस चौतारी नेपाल रुपन्देहीले मणिग्राममा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले लडाकु शिविरको विषय उठाएर नेताहरुमाथि छानबिन गर्ने अख्तियारको घोषणापछि माओवादीले एमालेसमक्ष महाभियोगको प्रस्ताव ल्याएको खुलासा गरे।   ‘माओवादी केन्द्रका नेताहरुले लोकमानसिंहको विरुद्धमा प्रस्ताव ल्याउनुभयो र समर्थन माग्नुभयो’, उपाध्यक्ष गौतमले भने, ‘हाम्रो पार्टीका साथीहरुले समर्थन गर्नुभयो। महाअभियोगको बास्तविकता यो हो।’

माओवादी लडाकुको शिविर व्यवस्थापनको विषयमा अनुसन्धान गर्ने अख्तियारको घोषणापछि माओवादीले कार्कीमाथि महाभियोगको प्रस्ताव एमाले र कांग्रेससमक्ष गरेको गौतमले बताए। ‘जब अदालतमा मुद्दा गयो। तुरुन्तै क्यान्टोन्मेन्टको विषयमा माओवादी नेताहरुमाथि मुद्दा सुरु गर्ने घोषणा गरियो’, महाभियोगको पृष्ठभूमिबारे गौतमले भने।

अख्तियार प्रमुख कार्कीले अनुसन्धानको बहानामा राजनीतिक पार्टीहरुमाथि अराजनीतिक काम सुरु गरेपछि उनीमाथि दलहरुको विश्वास डगमगाएको उनले बताए। ‘लोकमानले राजनीतिक पार्टीहरुमाथि अराजनीतिक किसिमले काम सुरु गरे त्यसपछि हाम्रो विश्वास डगमगायो’, उनले भने, ‘यदि माओवादी केन्द्र, एमाले वा कांग्रेसले समर्थन नगरेको भए उनी अख्तियार प्रमुख हुन सक्ने थिएनन्। तर फर्केर यिनै पार्टीलाई समाप्त गर्ने किसिमले काम गर्न थाले।’

कार्कीले प्रतिशोधपूर्ण हिसाबले काम गर्न थालेकाले महाअभियोगको प्रस्ताव आएको गौतमको भनाई थियो। ‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौं, प्रतिशोध साँध्ने हिसाबले लोकमानले काम गर्न थालेका छन्, यसो गर्नुहुन्न भन्दै आएका थियौं’, उपाध्यक्ष गौतमले भने, ‘अहिले माओवादी केन्द्रका नेताहरुले लोकमानसिंहको विरुद्धमा प्रस्ताव ल्याउनुभयो, समर्थन माग्नुभयो, अनि हामीले समर्थन गर्‍यौँ। यो प्रक्रियामा गएको छ र प्रक्रियाअनुसार नै टुंगो लाग्छ।’ ह‍ेर्नुस् भिडियोः

यसमा तपाईको प्रतिक्रिया