उर्जामंत्री जनार्दन शर्माको खुलासा: तिन प्रमुख नेता ओली, दाहाल र देउवा बीच यस्तो गोप्य सहमति!

काठमाडौं, ८ कात्तिक । उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध माओवादी केन्द्रले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि कांग्रेस–माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव कांग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याइएको दाबी गरे । उनले भने, ‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला चलाइएको छ, यी भ्रमात्मक कुराहरू हुन्, कांग्रेस र माओवादीवीच छलफल भैरहेको छ ।’

उनले महाअभियोग प्रस्ताव आफ्नो पार्टीले ल्याएको उल्लेख गर्दै भने, ‘यो प्रस्ताव हामीले ल्याएका हौँ, एमालेले त समर्थन मात्रै गरेको हो, हामी एमालेको पछि लागेको होइन, एमाले चाहिँ हाम्रो पछि आएको हो, एमालेले चाहँदैमा यो गठबन्धन टुट्दैन्, त्यसैले एमाले र माओवादी केन्द्र मिलेर नयाँ गठबन्धन बनाउन लागे भनेर हाउगुजी नचलाए हुन्छ ।’

मन्त्री शर्माले महाअभियोग प्रस्ताव प्रक्रियामा गैसकेकोले यो दुई तिहाई भन्दा बढी मतले पारित हुने र लोकमान हटाउने दाबी गरे । उनले भने, ‘यो प्रस्ताव पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादर देउवासँग छलफल भएर नै यो प्रस्ताव आएको हो । छलफल नै नभइकन प्रस्ताव आयो भन्नु गलत हो, कांग्रेसको सहमतिमै यो प्रस्ताव आएको हो ।’

अख्तियार प्रमुख कार्कीले मुलुकमा समानान्तर सरकार चलाएको आरोप लगाउँदै मन्त्री शर्माले भने, ‘लोकमानले पदको दुरुपयोग गरेर राज्यमा आतंक सिर्जना गरेका थिए, त्रास फैलाएका थिए, त्यसैले उनको विरुद्धमा सडक र सदन दुवैमा व्यापक विरोध भएकोले नै हामीले यो कुरा उठाएका हौं ।’

यसमा तपाईको प्रतिक्रिया