आजदेखि यसरी अघि बढ्दैछ लोकमानमाथिको महाअभियोगमा छलफल, लोकमानसँग पनि बयान लिने तयारी

lok-kp-dahal
काठमाडौं,९ कात्तिक ।
संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभिमयोग प्रस्तावमाथि आजदेखि संैद्धान्तिक छलफल हुने भएको छ। कार्की विरुद्धको महाअभियोग प्रस्ताव आइतबार बसेको व्यवस्थापिका संसदमा पेश भएको छ। बैठकमा सभामुख ओनसरी घर्तीले संसदमा पेश भएको महाअभियोग प्रस्तावमाथिको छलफल आज मंगलबार बस्ने व्यवस्थापिका संसद बैठकमा तीनबजेदेखि सुरु हुने जानकारी गराइसकेकी छन् ।

 संसद बैठकमा महाअभियोग प्रस्तावमा सैद्धान्तिक छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइन्छ । महाअभियोग सिफारिस समितिले एक महिनाभित्र रायसहितको प्रतिवेदन संसदमा पेश गर्नुपर्छ । महाअभियोग समिति गएको बुधबारमात्र गठन भएको थियो। ११ सदस्यीय समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ। अख्तियार प्रमुख कार्की विरुद्ध गत प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । माओवादी सांसद महेन्द्र शाहीले प्रस्ताव पेस गरेपछि सभामुखले सो प्रस्तावमा छलफल हुने समयावधि निर्धारण गर्नेछिन् । सो छलफल समाप्त भएपछि त्यस्तो प्रस्ताव संसद्ले महाअभियोग सिफारिस समितिमा पठाउनेछ । संसद्ले छलफलपछि समितिमा पठाएको प्रस्तावमा समितिले कारबाही प्रारम्भ गर्नेछ । कारबाही प्रारम्भ भएपछि अख्तियार प्रमुख कार्कीले आफूमाथि लागेको आरोपबारे सफाइ पेस गर्न सात दिनको मौका पाउनेछन् ।

सफाइ सन्तोषजनक नभएमा वा तोकिएको म्यादभित्र आफैँ उपस्थित भई कुनै सफाइ पेस नगरेमा समितिले आफ्नो सिफारिससहितको प्रतिवेदन सदनसमक्ष पेस गर्नेछ । समितिले प्रारम्भिक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाअभियोग लाग्न सक्ने मनासिव र पर्याप्त आधार देखिएमा संसद्मा महाअभियोगको सिफारिस गर्न सक्नेछ । सिफारिसबारे अन्तिम निर्णय गर्न समितिले ३० दिनको म्याद पाउनेछ ।

यसमा तपाईको प्रतिक्रिया