महाभूकम्पमा २२ घण्टा पुरिएका बालक अवालको कथामा बन्यो फिल्म ‘धर्तीपुत्र’

dhrma-putro
कक्षा १० मा अध्ययन गर्दै गरेका १५ वर्षका विद्यार्थी आदित्य खड्काले निर्माण गरेको छोटो फिल्म ‘धर्तीपुत्र’ आज भक्तपुरका पत्रकार माझ प्रदर्शन गरिएको छ । छोटो उमेरमै सफल फिल्ममेकरको परिचय बनाउन सफल आदित्यले गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पमा २२ घण्टा पुरिएर जीवितै उद्धार गरिएका भक्तपुरका चार महिनाको बालक सोनिस अवालको कथालाई समेटेर निर्माण गरेको उक्त फिल्म आज यहाँका पत्रकार माझ प्रदर्शन गरिएको हो ।

क्रियासिल पत्रकार मञ्च भक्तपुरले आयोजना गरेको कार्यक्रममा पाँच मिनेटको उक्त फिल्म प्रदर्शनपछि आदित्यले बालक अवाललाई अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले रु. १० हजार रुपैया अवालको आमालाई हस्तान्तरण गरे । छोटो फिल्म ‘धर्तीपुत्र’ ले सातवटा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानिनुको साथै दुईवटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । अमेरिकाको सिकागोमा अक्टोबर २८ देखि नोभेम्बर ६ सम्म हुने सिकागो ईन्टरनेशनल चिल्ड्रेन फिल्म फेस्टिवलमा छनोट भई प्रर्दशन गर्न आदित्य भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

गतसेप्टेम्बर २९ देखि अक्टोबर ३ सम्म नाईजेरियाको नर्डिक कन्फरेन्समा आयोजना भएको ‘नाईजेरियाको रियलटाईम फिल्म महोत्सव’ मा सहभागि फिल्म मध्ये ‘धर्तीपुत्र’ ले ‘वेष्ट डकुमेण्ट्री’ को अवार्ड हात पारेको थियो ।

यही अक्टोबर ६ देखि १६ अक्टोवरसम्म अमेरिकाको लस एन्जलसमा भएको ‘अवायरनेस ईन्टरनेशनल फिल्म फेष्टिवल’ को प्रदर्शनी भएकोे थियो भने सोही फिल्म अमेरिकाको मायामीमा आउँदो वर्ष आयोजना हुने ईण्डीवाईज भर्टियुल फिल्म फेष्टिवल लगायत अन्य दुई फिल्म महोत्सवमा पनि छनौटमा परेको आदित्यले जानकारी दिए ।

उक्त फिल्म हालसम्म अमेरिकाको भर्मण्टमा गत जुनमा आयोजित स्काउट फिल्म महोत्सवमा वेष्ट डकुमेन्ट्रीका लागि मनोनयनमा परेको थियो भने गत जुलाईमा न्यूयोर्कमा आयोजित एसियन अमेरिकन फिल्म फेष्टिवलमा फर युथ वाई युथ क्याटोगरीमा छनोटमा परेको थियो ।

अमेरिकामा पाँच वटा फिल्म महोत्सवमा छनौटमा परेको बताउँदै उनले भने – ”विभिन्न देशको फेष्टिवलमा यो फिल्म छनोट हुनु मेरा लागि खुशीको कुरा हो, यस्ता फिल्म महोत्सवबाट मैंले धेरै कुरा सिक्नुछ, मैले बनाएको एउटा नेपाली फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा धमाधम छानिरहँदा मैले देश कै गौरब बढाउने काम गरे जस्तो लागिरहेको छ ।”

काठमाण्डौ ईन्टरनेशनल माउण्टेन फिल्म महोत्सवमा ‘धर्तीपुत्र’ ले तृतीय भएर प्राप्त गरेको रकम मध्येको रु. १० हजार अवालका लागि प्रदान गरेको हो । आदित्यले यसअघि किशोरहरुको फुटबलप्रेमीको कथालाई समेटेर ‘अ ड्रिम टु बी’ र कमैया छात्राहरुको शिक्षाको चाहनालाई समेटेर ‘डष्ट टु डाउन’ गरी तीन छोटा फिल्म निर्माण गरेर प्रदर्शन गरिसकेका छन् । -आजकोखबर

यसमा तपाईको प्रतिक्रिया