घरबाट निकालिए कांग्रेस नेता, बुढेसकालमा ‘घर न घाट’को अवस्थामा (भिडियो हेर्नुहोस)

सुनसरी, कात्तिक ९ । वि.स. २००७ सालको राणाशासन विरुद्धको आन्दोलनमा बीपी कोइरालासँगै आन्दोलन गरेका कांग्रेसका आदर्शवादी नेता बलबहादुर रुम्दाली राई ८६ वर्षको उमेरमा घरबाट निकालिएका छन् ।

घरमा छोराबुहारीले बस्न नदिएका कारण घर छाड्न बाध्य रुम्दालीलाई कांग्रेस पार्टीले समेत वास्ता नगरेपछि अहिले ‘घर न घाट’का बनेका हुन् ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँगै कांग्रेसमा लागेर राणा शासनविरुद्धको आन्दोलन सफल पार्न होमिएका थिए खोटाङका बलबहादुर रुम्दाली ।

तर, बलबहादुर यतिबेला घरबाट छोरा/बुहारीबाटै लखेटिएका छन् ।

छोरा बुहारीबाट घर निकाला गरिएका बलबहादुर कांग्रेस पार्टीले समेत वास्था नगरेको भन्दै प्रकासपुरमा रहेको छोरी ज्वाईंको घरमा शरण लिएर बसेका छन् ।

शरीरले सकुन्जेल पार्टीलाई अगाडि बढाउन र छोरा छोरीको शिक्षा दिक्षामा कुनै कसुर बाँकी नराखे पनि अहिले सबैबाट एक्लिएको बलबहादुर रुम्दाली बताउँछन् ।

आठ छोराछोरीका बाबु रुम्दाली तरहरामा रहेका साहिला छोरा जगत र बुहारी उषाको घरमा बस्दै आएका थिए ।

तर छोरा बुहारीले खानसमेत नदिएर रातदिन गाली बेइजती गर्न सुरु गरेपछि बाध्य भएर श्रीमतीसहित घर छोड्नुपरेको उनको गुनासो छ ।

घर छोडेसँगै छोरीकै घरमा श्रीमतीको निधन भएको र आफू पनि दम रोगले थलिएको रुम्दाली बताउँछन् ।

घरबाट निकालिएपछि दमको रोगले थलिएका ससुराको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन नसकिएको ज्वाई भवानी अधिकारी बताउँछन् ।

बलबहादुरले जीवनभर पार्टीमा काम गरेको र जिवनको अन्तिम घडीमा आएर घरवारविहीन हुनु परेको भन्दै आर्थिक सहायता र निःशुल्क औषधि उपचारका लागि कांग्रेस पार्टी समक्ष माग गरेका छन् ।

उनले अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासहितका बरिष्ठ नेताहरुलाई सहयोगका लागि हार गुहारसमेत गरेका छन् । तर उनको सुनुवाई कतैबाट भएको छैन ।

बलबहादुर २०४८ सालको संसदीय निर्वाचन र २०५१ सालको मध्यावधि निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ कांग्रेसका तर्फबाट उम्मेदवारसमेत बनेका थिए ।

राणा शासन र पञ्चायतविरुद्धको आन्दोलनमा लाग्दा दुई पटकसम्म जेल बसेका रुम्दाली कांग्रेस खोटाङका पूर्व जिल्ला सभापति पनि हुन् ।

बलबहादुरका साहिला छोरा सिंगापुर पुलिस र जेठा छोरा शिक्षकबाट पेन्सन पकाएर अवकास भएर बसेका छन् ।

कान्छा छोराको निधन भएको र माहिलो छोरा खोटाङमै बस्दै आएका छन् । चारवटी छोरी विवाह गरेर आ-आफ्नो घरमा गइसकेका छन् ।

यसमा तपाईको प्रतिक्रिया