प्रधानमन्त्रीको गुनासो : भारत भ्रमणमा रहँदा भएको अख्तियारको पत्रकार सम्मेलनले मेरो चित्त दुखेको छ

Newly elected Nepalese PM Pushpa Kamal Dahal upon arrival to administers oath of office at presidential building "Shital Niwas" in Kathmandu
काठमाडौं, १० कात्तिक – भारतको औपचारिक भ्रमणमा रहेको बेला आफू र पार्टीविरुद्ध अख्तियारबाट भएको पत्रकार सम्मेलनपछि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल संसदीय छानबिनमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीबीचको सम्बन्ध बिग्रेको खुलासा भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आज बिहान बालुवाटार पुगेका अख्तियारका पाँचजना आयुक्तसँगको कुराकानीको क्रममा प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् । भेटमा सहभागी स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार, आफू भारत भ्रमणमा रहेका बेला एकाएक पत्रकार सम्मेलन गरेर माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्ने र नेताहरुलाई पुर्जी काटेर उपस्थित हुन निर्देशन दिने भन्ने अख्तियारको भनाईले प्रधानमन्त्रीको चित्त दुखाएको थियो ।

‘जे जस्तो भएपनि म मुलुकको प्रधानमन्त्री हुँ र देशको प्रतिनिधित्व गरेर भारत भ्रमणमा गएको थिएँ,’ भेटमा प्रधानमन्त्री दाहालले आयुक्तहरूसँग व्यक्त गरेको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘भारतमा मेरो उच्चस्तरीय भेटघाट चलिरहँदा यता चाहिँ प्रधानमन्त्री नै छानबिनमा पर्छ भनेर प्रचार गर्ने ? के त्यो आफ्नै प्रधानमन्त्रीप्रतिको अपमान होइन ?’

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अख्तियार प्रमुख कार्कीको निर्देशनमा भएको उक्त पत्रकार सम्मेलनपछि नै उनी कार्कीको व्यवहारबाट सन्तोष थिएनन् । ‘दुइ पक्षीय भेटघाट चलिरहेकै बखत आफ्नै देशको प्रधानमन्त्रीलाई बदनाम गराउनेगरी जसरी यहाँ पत्रकार सम्मेलन गरियो, त्यसबाट मलाई निकै चित्त दुखेको छ,’ आयुक्तहरुसँगको भेटमा प्रचण्डले भने ।

प्रचण्डले भेटका क्रममा अख्तियार प्रमुख कार्कीका बारेमा गुनासो समेत गरे ।  ‘यदि पत्रकार सम्मेलन गरेर छानबिन गर्नु नै थियो भने पनि म नेपाल फर्केपछि हल्लाखल्ला गरेको भए भइहाल्थ्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले थप्यो, ‘छिमेक भ्रमणमा रहेका बेला जुन खालको काम कार्की र उनले नेतृत्व गरेको संस्थाबाट भयो, त्यसले मेरो चित्त दुख्नु त स्वभाविक नै हो । साथै त्यसले देशको गरिमामा पनि चोट पुगेको छ

प्रधानमन्त्री र दलका नेताको गतिविधिको छानबिन गर्ने अधिकार अख्तियारलाई भएपनि अनुसन्धान प्रक्रिया पारदर्शी, विश्वसनीय र निष्पक्ष हुनुपर्ने प्रचण्डको भनाई थियो ।
उनले विधि, प्रक्रिया, कानुन र संविधानअनुसार काम गर्न अख्तियारका आयुक्तहरूलाई सुझाव पनि दिए ।

अख्तियारका आयुक्तहरूले हाल विचाराधीन अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनलाई नयाँ संवैधानिक व्यवस्था अनुसार संशोधन गर्ने प्रक्रिया छिट्टै अघि बढाउन पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री दाहाल र आयुक्तहरूबीचको छलफलमा अख्तियारको काम गर्ने शैली, क्षेत्राधिकार लगायत विषयमा पनि छलफल भएको थियो । यसअघि प्रधानमन्त्री दाहालले लोकसेवा आयोगका पदाधिकारीसँग भेट गरेका थिए । संवैधानिक निकायका पदाधीकारीसँगको भेटघाटलाई निरन्तरता दिने क्रममा आज अख्तियारका आयुक्तहरूसँग उनको भेट भएको हो ।

प्रधानमन्त्रीलाई भेट्न अख्तियारका कार्यवाहक प्रमुख दीप बस्न्यात, आयुक्तहरू नवीन घिमिरे, गणेश जोशी, राजनारायण पाठक र सावित्री गुरुङ्ग बालुवाटार पुगेका थिए ।

यसमा तपाईको प्रतिक्रिया