यी हुन लोकमानलाई अख्तियारबाट ‘आउट’ गर्ने नौ काम एमाले र माओवादीले देखाइदिए

काठमाडौं, १० कात्तिक । महाअभियोग प्रस्तावका प्रस्तावक महेन्द्रबहादुर शाहीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले विधिको शासन, संविधान र कानूनभन्दामाथि देखाउने कार्य गरेकाले त्यो स्वीकार्य छैन भनी आफूसहितका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गराएको बताउनुभएको छ ।

संसदको मंगलबारको बैठकमा महाअभियोग प्रस्ताव पेश गर्दै सांसद शाहीले प्रमुख आयुक्त कार्कीले शक्तिको दुरुपयोग गरेर सानातिना कुरा देखाइ कारबाही गर्ने गरेको आरोप लगाउनुभयो । कार्कीविरुद्ध विभिन्न नौ आरोप लगाउनु भएका शाहीले भन्नुभयो, ‘शक्तिको दुरुपयोग गरेर सानातिना कुरा देखाएर आफू अर्बौंको भ्रष्टाचारमा संलग्न हुने । राजनीतिक पार्टी र नेतालाई बद्नाम गराउन लाग्ने । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काममा प्रभावित पर्ने गरेर काम गरेका छन् ।’

सांसद शाहीले प्रमुख आयुक्त कार्कीले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेर राज्यसंयन्त्रमा आतंक सृजना गरेर गलत बाटोमा हिँडेको आरोप लगाउनुभयो ।

‘राज्य संयन्त्रमा आतंक मच्चाउने, राज्यविरुद्धको जासुसी गर्ने, काठमाडौं प्राधिकरणमा अनियमितताको उजुरीलाई मोलमोलाइमा तामेलिमा राख्ने । अख्तियारभित्र छुट्टै गुट खडा गर्ने । एक्लै कार्यसम्पादन गर्ने । किष्ट मेडिकल कलेजमा दबाब दिएर अनुचित काम गर्न लगाउने । गुप्तचर निकायलाई आफू अनुकुल प्रयोग गर्ने जस्ता कार्य भएको छ’, उहाँले भन्नुभयो, ‘शक्तिले मान्छलेलाई भ्रष्ट र निरंकुशतातिर जान्छ । अहिले त्यस्तै भएको छ ।’

महेन्द्रबहादुर शाहीले संसदमा पेश गर्नुभएको नौ अभियोग

१. संसदले बोलाउँदा अन्तिम समयमा डाक्टरले नबोल्ने भनेको छ भनी पत्र पठाएर अनुपस्थित भएको तर त्यहि समयमा एउटा नीजि टेलिभिजन च्यानलमा पत्रकारसंग भलाकुसारी गरेको दृश्य सार्वजानिक गरी सार्वभौम संस्थाको अपहेलना गरेको । संसदको सम्बन्धित समितिमा बोलाउँदा अटेर र अपहेलना गरी सार्वभौम संसदलाई चुनौती दिएको ।

२. न्यायपालिकाबाट जारी म्याद तामेली गर्न जाँदा भिजिलान्ते प्रयोग गरी हुलहुज्जत गर्ने र न्याय प्रशासनमा व्यवधान सिर्जना गर्ने र न्याय संस्थालाई अनुचित विलम्ब गरी अदालतको अपहेलना जस्तो जघन्य कार्य गरेको ।

३. आफ्नो नजीक र नातागोता पर्ने व्यक्तिलाई भ्रष्टाचार मुद्दामा प्राकृतिक न्यायको सिद्दान्त र मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर विपरीत आफैले निर्णय गरेर उजुरी तामेलीमा राखिदिएको ।

४. आफ्नो नाताको व्यक्तिको लगानी रहेको किस्ट मेडिकल कलेजमा क्षमता भन्दा बढी संख्यामा भर्ना कोटा बढाउन नेपाल मेडिकल काउन्सिललाई दबाब दिई स्वार्थको द्वन्द्व (conflict या interest) को सिद्दान्त विपरित निर्णय गरी अख्तियारको दुरुपयोग गरेको र काठमाडौं विश्वविद्यालयले संचालन गरेको MBBS को प्रवेश परिक्षामा अनावश्यक हस्तक्षेप गरेको ।

५. कानुनको ठाडो उन्लंघन गर्दै अख्तियारी बेगर दलका नेता र सुरक्षा अंगका प्रमुखहरुको गुप्तचरी गर्ने, कल डिटेल बुझ्ने, फोन ट्यापिंग गर्ने जस्ता गतिविधि गरी राज्य विरुद्ध जासुसी कार्यमा संलग्न रही राज्य विरोधी कसुरमा संलग्न भएको ।

६. काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका अन्य धेरै निकायहरुमा भएका अनियमितता सम्बन्धी उजुरीहरु अपारदर्शी रुपमा तामेलीमा राखेको ।

७. अख्तियार दुरुपयोग अनुसन्धान आयोग भित्रै छुट्टै र गोप्य गुट खडा गरी अन्य आयुक्तहरुलाई निर्णय प्रक्रियामा सामेल नगराई अपारदर्शी र एकलकाँटे ढंगले कार्य संचालन गरेको ।

८. कसैले गल्ति, अनियमितता वा भ्रष्टाचार गरे नगरेको रखबारी गरी अम्बुज्मेंन (Ombudsman) को भूमिका निभाउनु पर्नेमा पद र शक्तिको दुरुपयोग गरी आफै कार्यकारी शक्ति भए झैँ गरी राज्यको कार्यकारी शक्तिमा अतिक्रमण गरी प्रहरी, प्रशासन र गुप्तचर संस्थालाई आफु अनुकूल चल्न र निर्णय गर्न बाध्य पारी अख्तियारको दुरुपयोग गरेको ।

९. भ्रष्टाचार जन्य क्रियाकलापको गम्भीर अनुसन्धान गरी प्रमाणको आधारमा मुद्दा दायर गर्ने संबैधानिक अधिकार हुँदा हुँदै सो नगरेर उल्टै पत्रकार सम्मेलन गरेर अनुसन्धान गर्दैछौ भनेर प्रचार गरी व्यक्तिलाई वदनाम गर्ने गरेको ।

यसमा तपाईको प्रतिक्रिया