लोकमान प्रकरणबारे प्रचण्डले अचानक शीर्ष बैठक बेलुका बालुवाटारमा किन बोलाए ?


kp-oli-prachanda-shre-br-deuwa

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । लोकमान प्रकरणलगायतका विषयमा छलफल गर्न शीर्ष बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन तथा संसद्मा पेस भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा परामर्श गर्न बैठक बोलाएका हुन्। बैठकको समय बेलुका छ बजे तय गरिएको छ।
प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) ले प्रधानमन्त्रीले संविधान संशोधनलगायतका विषयमा मुख्य दलहरुसँग छलफल गरेर साझा दृष्टिकोण बनाउन बैठक बोलाउनु भएको बताए।
लोकमानविरुद्ध एमाले र माओवादीका सांसदहरुले हस्ताक्षर गरे पनि सरकारमै रहेको अर्को दल कांग्रेसले औपचारिक निर्णय गरेको छैन । कांग्रेसको मौनताले गर्दा प्रधानमन्त्रीलाई समेत अप्ठ्यारो परेको छ । यो विषयमा प्रमुख दलका शीर्ष नेताहरु एकै ठाउँमा बसेर पहिलोपटक छलफल गर्न लागेका हुन् । लोकमान प्रकरण चर्किएपछि संविधान संशोधन आझेलमा परेको भन्दै मधेसी दलहरुले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिइरहेका छन् । यसबारेमा पनि दलहरुको धारणा बुझ्न र सहमति जुटाउन प्रधानमन्त्रीले शीर्ष बैठक बोलाएका हुन् ।

यसमा तपाईको प्रतिक्रिया