भारतीय राष्ट्रपति मुखर्जीलाई बोक्न मात्र एकैदिन ३० लाख खर्चिने सरकारको तयारी

काठमाडौं, १० कात्तिक । सरकारले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई जनकपुर र पोखरासम्म पुगाउन मात्रै एकैदिनमा ३० लाख रुपैयाँ खर्च गर्ने तयारी गरेको छ ।

यो खर्च मात्रै जहाज चार्टर गरेवाफतको हो । भारतीय राष्ट्रपतिलाई बोक्न कात्तिक १९ गतेका लागि दुई वटा एटीआर जहाज चार्टर गर्न सरकारले बुद्ध एयरलाई पत्र पठाएको छ । दुवै जहाजको क्षमता ४२ सिटको छ ।

बुद्ध एयरका म्यानेजर सुवर्ण खरेलले सरकारबाट जहाज चार्टरका लागि पत्र आएको पुष्टि गर्दै एक दिनको ३० लाख नेपाली रूपैयाँमा २ वटा जहाज चार्टरमा दिन लागेको जानकारी दिए । उनका अनुसार यसबारे लिखित हस्ताक्षर हुन बाँकी छ ।

भारतीय राष्ट्रपति कात्तिक १७ गते बुधबार काठमाडौं आइपुग्ने र १९ गते जनकपुर र पोखरा जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया