सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भयो रोगसँग लड्न सक्ने क्षमता भएको दुर्लभ धान

karobar
सिन्धुपाल्चोक, ११ कात्तिक – रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ । नेपालमै दुर्लभ मानिने ‘जी–६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो, कारोबार दैनिकमा खबर छ ।

मेलम्चीका युवा कृषक कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् । यो जातको चामलको रङ कालो र धान अन्यको तुलनामा केही फिक्का हुन्छ । पराल २ फिटको हुन्छ ।

जिल्लामै पहिलोपटक यो जात भित्र्याउने किसान सिग्देलका अनुसार नियमित खाए यो धानको चामलबाट बनेका परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमतासमेत राख्छ ।
नेपालमा दक्षिण कोरियाबाट भित्रिएको इतिहास भेटिएको किसान सिग्देलले बताए । खेती भने दाङबाट सुरु भएको तथ्य भेटिएको छ ।

यो धान र चामल हजारौं वर्ष पहिले सर्वसाधारणलाई निषेधित थियो । पहिले चीनलगायत अन्य देशमा यो जातको चामल राजाहरूले मात्रै खाने गर्थे । संसारकै महँगो धान र चामलमध्येको यो पनि एक भएको सिग्देलले दाबी गरे ।

“हामीले अघिल्लो वर्ष यसको बीउलाई प्रतिकेजी एक हजार रुपैयाँमा खरिद गरेर ल्याएका हौं,” उनले भने, “पहिलो वर्ष परीक्षणका लागि ४० किलो बीउ ल्याएर खेती गरेका थियौं ।”

उनले कालो धानबाट उत्पादित चामलको मूल्य तय भई नसकेको बताए । “अन्य चामलको तुलनामा धेरै नै महँगो पर्छ,” उनले भने ।

समुद्री सतहबाट १ हजार ५ सयदेखि १ हजार ८ सय मिटरको उचाइमा यसको उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालयले पनि कालो धानको मूल्य धेरै पर्ने जनाएको छ ।

“कालो धानको जात फरक–फरक हुन्छ,” कार्यालयका बाली विकास अधिकृत हेम शर्मा तिवारीले भने, “स्थानीय र विदेशी हुन्छ, त्यसको गुणस्तरमा धेरै फरक हुन्छ ।” उनले जिल्लामा यसअघि कालो धान खेती भएको आफूले जानकारी नपाएको बताए ।

यसमा तपाईको प्रतिक्रिया