लोकमानलाई जोगाउन महरा किन सक्रिय छन् ? यस्ता छन् चार कारण

mahara-lok
११ कात्तिक । आफ्नै पार्टीका सांसद प्रस्तावक भएर दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा वातावरण बनाउन माओवादी केन्द्रका नेता तथा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा भित्रभित्रै सक्रिय रहेका छन् ।

पार्टीले उक्त प्रस्तावको पक्षमा लाग्न सबै सांददलाई ह्वीप जारी गर्दा समेत महरा भने पार्टी निर्णयको विरुद्धमा उभिएका छन् । कार्कीको महाअभियोग प्रस्तावको पक्षमा वाहिरी माहौल बन्दै गइरहेको बेला महराले भने खुलेरै कार्कीको बचाउ गर्ने हिम्मत नगरे पनि भित्रभित्रै उनी कार्कीलाई जोगाउन लागिपरेको कुराबाट उनकै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि अनभिज्ञ छैनन् ।

प्रचण्डले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने र पारित गराउने प्रयोजनका लागि जनार्दन शर्मा, वर्षमान पुुनलगायतका सीमित नेताको टोलीलाई जिम्मा दिएको र यसको सुइँको आफ्नै पार्टीका नेता महरालाई समेत नदिइएको कुरा अख्तियार प्रमुख कार्की निकट स्रोतहरुबाट बाहिर चुहिनुले पनि महराको लोकमानसँगको निकटतालाई छताछुल्ल भएको हो ।

आखिर आफ्नै पार्टीको अगुवाइमा आएको महाअभियोग प्रस्तावको विपक्षमा लुकीलुकी लाग्नुपर्ने के त्यस्तो बाध्यता आइप¥यो महरालाई ? माओवादी केन्द्र स्रोतका अनुसार महराले लोकमानलाई च्याप्नुका पछाडि मूलतः चार वटा कारणले काम गरेको बताइन्छः

पहिलो कारणः भारतसँगको घनिष्टता

कुनै समय माधवकुमार नेपाल नेतृत्वको सरकारलाई ढालेर नयाँ सरकार बनाउन चिनियाँ व्यापारीसँग ५० करोड रुपियाँ मागेको टेप सार्वजनिक भएपछि चीन निकटस्थको छवि बनाएका महराको त्यो छवि एमाले नेतृत्वकै अर्को सरकार (केपी ओली) ढाल्ने बेलासम्म गल्र्यामगुर्लम्मै ढल्यो । ओली सरकार ढालेर वर्तमान सरकार बनाउन भारतसँग ‘डिल’ गर्ने कामको अगुवाइ उनै महराले गरे । त्यसैको पुरस्कारस्वरुप पछिल्लो पटक प्रचण्डको नेतृत्वमा सरकार बन्दा उनी उपप्रधान तथा अर्थमन्त्री बने ।

भारतकै डिजाइनमा अख्तियार प्रमुख बनेका कार्कीले पनि ओली सरकार ढालेर वर्तमान सरकार बनाउन लागेको बुझाइ एमाले वृत्तमा छ । भारतलाई खुसी पार्नका लागि पनि अहिले महरा पार्टीले लिएको महाअभियोगको पक्षको निर्णयलाई बोक्न सक्ने अवस्थामा छैनन् ।

दोस्रो कारणः लोकमानले लगाएको गुन चुक्ता

दुनियाँलाई थाहा हुन बाँकी नभएको अर्को कुरा के हो भने महरा माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार काण्डमा मुछिएका विवादास्पद व्यक्ति हुन् । उनीमाथि राज्यबाट भर्पाइको भरमा लडाकुको ५८ करोड रकम बुझेर भ्रष्टाचार गरेको गम्भीर आरोप छ । त्यही काण्डमा अख्तियारले छानविन अगाडि बढाएको थियो ।

त्यति मात्र होइन, अनाधिकृत तरिकारले अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले बयानका लागि पत्रसमेत काटेको थियो महरालाई । सञ्चारमन्त्री छँदा गैरकानुनी तरिकाले दूरसञ्चार कम्पनी हेलो नेपाललाई अनुमति दिएको विषयमा पनि उनीमाथि अख्तियारमा उजुरी छ । तर, मन्त्रीको शपथ हुनु अघिल्लो दिन २०७३ साउन १९ गते महराको अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दालाई अख्तियारले मुल्तवीमा राखेकोे थियो । छानविन हँुदा दोषी ठहर भई जेल जानुपर्ने प्रकृतिको मुद्दा मुल्तबीमा राखिदिएर मन्त्री बनाएको गुन महराले लोकमानलाइ तिर्नु पर्नेछ ।

तेस्रो कारणः एनसेल प्रकरण

एनसेल प्रकरणका कारण पनि महराले लोकमानलाई साथ दिनुपर्ने बाध्यता आइपरेको छ । १० करोडको लगानी गर्ने भनेर भित्रिएको विदेशी कम्पनी एनसेलले त्यति रकम लगानी नै नगरी पाँच वर्षअगाडि नै १० अर्ब रुपियाँ फाइदा गरेको भन्दै त्यो रकम बाहिर लैजान लागेको थियो । तर, नेपाल राष्ट्र बैंकले त्यो रकम निकासा दिने आधार नभएको भन्दै रोक्का गरेको थियो । त्यतिबेला गर्भनर डा. युवराज खतिवडा थिए ।

तर, गत भदौको अन्तिम साता गर्भनर डा. चिरञ्जीवी नेपाल, अख्तियार प्रमुख कार्की र अर्थमन्त्री महराको विशेष संलग्नता र अगुवाइमा आठ अर्ब एनसेलको ८ अर्ब रुपियाँ लाभांश बाहिर लैजान पाउने टुंगो लाग्यो र दसैँलगत्तै सो रकम बाहिरियो । यसमा महरा र लोकमानको संलग्नता भएकाले पनि अहिले महराले लोकमानविरुद्ध उभिने आधार देखिँदैन ।

चौथो कारणः पार्टीभित्रको स्वार्र्थ राजनीति

प्रचण्ड पछिका दोस्रो पुस्ताका नेताहरु खासगरी महरा, वर्षमान पुन, जनार्दन शर्माहरुबीच को नेता हुने भन्ने भित्रभित्रै लडाइँ चल्ने गरेको छ । जसरी भए पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति राम्रैसँग मौलाएको बताइन्छ । महरा पुन, शर्माहरु पार्टीमा अगाडि बढेको देख्न सक्दैनन् भने पुन र शर्माहरुले पनि एकले अर्को अघि बढेको देखिनसहने बताइन्छ । अहिले लोकमानलाई महाअभियोगको प्रस्ताव ल्याउने कुराको अगुवाइ पुन र शर्माहरुले नै गरेका हुन् । प्रचण्डले पनि यो कामको जिम्मा उनीहरुलाई नै दिएका थिए । यो सबै महरालाई मन नपरेको बताइन्छ । महाअभियोग प्रस्ताव पास भएमा पार्टीभित्र शर्मा र पुनहरु ‘हिरो’ बन्ने र आफ्नो राजनीति भविष्यसमेत अन्धकारमा पर्ने खतरा महसुस महराले गरेको स्रोतको दाबी छ ।

यसमा तपाईको प्रतिक्रिया