भारतीय राष्ट्रपति आउँदा पनि नेपालमा सार्वजनिक बिदा !, यस्तो रहेछ विगतको प्रचलन

काठमाडौं, १२ कात्तिक-सरकारले भारत र चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको राजकीय भ्रमणमा आउने दिन १७ कात्तिकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो, नयाँ पत्रिका दैनिकमा खबर छ ।
सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका समयमा पनि एक दिन राष्ट्रिय बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । यद्यपि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने–नहुने अझै अन्योल छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा दुई दिन सार्वजनिक बिदा दिइएको थियो ।

नेपालसँग दौत्य सम्बन्ध भएका जुनसुकै मुलुकका राष्ट्रप्रमुख राजकीय भ्रमणमा आएमा नेपालमा उनीहरू आउने दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको पूर्वमुख्यसचिव दामोदर गौतम बताउँछन् । ‘यो पुरानो चलन हो, जसलाई सामन्ती संस्कारको रूपमा लिन सकिन्छ,’ उनले नयाँ भने । गौतमले उन्नत शासन प्रणालीको रूपमा रहेको गणतन्त्रका शासकहरूले पुरानै सामन्ती संस्कारलाई अपनाउनु गलत रहेको बताए ।

यसमा तपाईको प्रतिक्रिया