प्रचण्डले पाए नयाँ उपाधि, भारतीय ‘लम्पसारवाद’को कमाण्डर

prachanda_news_9876
काठमाडौं, १२ कात्तिक । पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टिएर गएका माओवादीहरूले अहिले पनि भारतलाई आफ्नो प्रमुख सत्रु ठान्छन् ।

भारतसँग सुरुङ युद्ध गर्ने भन्दै रोल्पा सुरुङ खनेका घटना हुन् या भारतीय नम्बर प्लेटका सवारी साधन जलाउने यी सबै कार्य प्रचण्डले गरिसकेका छन् । यो सबै उनले सिकाएका हुन् ।

भारतको विरोध गरेकै कारण ‘भित्तेराष्ट्र’को उपमा पाएका प्रचण्डले अहिले ती आफ्ना पुराना कार्यलाई भुलाउने गरेर ठूलो कार्य गरेका छन् ।

त्यो हो भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय गरेर । के नेपालका कार्यकारी प्रमुख वा राष्ट्रपति भारतमा जाँदा सार्वजनिक विदा दिइएको थियो ? थिएन ।

प्रचण्डले आफूलाई के ठानेर प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय गरे, त्यो खोजीको विषय बनेको छ । कुनै बेला भारतलाई परम सत्रु ठान्ने प्रचण्डले एकाएक भारतप्रति किन यति धेरै मोह गर्न पुगेका हुन् माओवादी केन्द्रका नेताहरू नै आश्चर्यमा परेका छन् ।

पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदाका दिन सार्वजनिक बिदा दिने कुरा फिटिक्कै मन परेको छैन । राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले प्रचण्डको यो निर्णयलाई ‘लम्पसारवाद’को संज्ञा दिएका छन् । ‘मित्रराष्ट्र भारतसँगको सम्बन्धमा अब हाम्रा प्रधानमन्त्री लम्पसारवाद सिद्धान्तको नयाँ कमाण्डर हुनु भएको छ’, राप्रपा नेता डा.लोहनीले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन् ।

वामपन्थी विश्लेषक भरत दाहालले पनि प्रचण्डको यो कार्यशैलीको चर्को विरोध गरेका छन् । उनले भारतप्रति प्रचण्डले देखाएको मोहलाई ठूलै चुनौती दिँदै आलोचना गरेका छन् ।

भारतको गुलामी र चाकडी गरेको भन्दै प्रचण्डको यति बेला सामाजिक सञ्जालमा जमेर बिरोध पनि भइरहेको छ । झण्डै एक वर्ष नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिएको भारतको त्यो कथित उपहार नेपाल र नेपालीले भुलेका छैनन् ।

यस्तो अवस्थामा प्रचण्डको सार्वजनिक विदा दिने निर्णयले उनकै पार्टीभत्र खैलाबैला मच्चिएको छ । स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, बसन्त घर्ती, देव गुरुङसहितका दर्जन बढी नेताहरूले बिरोध गरेका छन् ।

कुटनीतिक परम्परा अनुसारका कार्य गर्नु उचित भए पनि भारत वा चीनको राष्ट्रपति आउँदा नेपालमा सार्वजनिक विदा दिन निर्णय उचित नभएको भन्दै सर्वत्र आलोचना भइरहेको हो ।

यसमा तपाईको प्रतिक्रिया