आफ्नै देशको त्रिभुवन विमानस्थलमा पैदल हिँडेर जान नपाउने ?

airpt-nepal
काठमाडौं, ११ कात्तिक – नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलमा प्रवेशका लागि पैदल यात्रीले लामो समयदेखि समस्या बेहोरिरहेका छन् ।

हिँडेरै विमानस्थल जान खोज्नेहरूले सहजै रुपमा विमानस्थलमा प्रवेश नपाउने कारणले उनीहरूलाई समस्या भएको हो ।

गाडी, ट्याक्सी वा मोटरसाइकलमा जाने व्यक्तिरूले सजिलै विमानस्थल प्रवेश पाएपनि पैदल यात्रीले भने विमानस्थल प्रवेश गर्न प्रवेशद्वारमा ठूलै सास्ती व्यहोर्नु पर्छ । वर्षौंपछि विदेशबाट आएका आफन्तको स्वागतका लागि विमानस्थल प्रवेश गर्नखोज्ने सर्वसाधारण पैदल हिडेर आफ्नै देशको विमास्थलमा समेत प्रवेश पाउँदैनन् ।

विमानस्थलको सुरक्षा हेर्ने नेपाल प्रहरीका डिआइजी गोबिन्द निरौलाले पैदल यात्रुले सहज प्रवेश नपाएको गुनासो आइरहेको भएपनि उक्त विषय सत्य नभएको बताए । गाडीलाई भन्दा पैदल यात्रुलाई नै प्राथमिकतामा राखेर विमानस्थल प्रवेश गराइएको समेत उनले दाबी गरे ।

‘कहीलेकाहीँ सुरक्षा अवस्था विग्रिन्छ कि भन्ने मात्रै हो, नत्र विमानस्थल प्रवेशमा कसैलाई पनि रोक छैन्,’ उनले भने, ‘तर केही गुनासा आएका छन्, ती सत्य होइनन् ।’ उनले आवश्यक मान्छेहरूलाई प्रवेशका लागि रोक नलगाइएको जानकारी गराए ।

साथै उनले पैदलबाट आउनेलाई नरोक्नको लागि समेत मातहतका प्रहरीलाई निर्देशन दिएको बताए । ‘कहीलेकाहीँ अनावश्यक मान्छेले समेत भीडभाड गर्छन् भन्नेमात्रै हो,’ उनले भने, ‘नत्र सबैले प्रवेश पाउनुपर्छ, पाएका पनि छन् ।’

‘आफ्नै देशको एयरपोर्ट हेर्ने रहरले पनि त मान्छे भित्र जान खोज्छन नि ?’ भन्ने प्रश्नमा निरौलाले त्यस्ता व्यक्तिहरूलाई समेत प्रवेशमा रोक नलगाइएको बताए । तर टिकट देखाएर जाने बाहेक अरुलाई विमानस्थलमा प्रवेश नदिइने गुनासो सर्वसाधारणको छ । सर्वसाधारणका लागि विमानस्थलको मुख्य प्रवेशद्वार नजिकै प्रतिक्षालय बनाइएको छ ।

‘घण्टौंदेखि आफन्तलाई रिसिभ गर्न यहाँ बसिरहेको छु,’ बुधबार साँझ सुर्खेत छिन्चुका राम गिरीले लोकान्तरलाई भने, ‘तर प्रहरीले भित्र जान दिँदैन ।’ उनले गाडी र ट्याक्सीबाट जानेले विमानस्थलमा सहजै प्रवेश पाएपनि हिँडेर जानेले भने नपाएको बताए ।

विमानस्थल स्रोतले भने पैदल यात्रुका लागि यस्तो समस्या नहुनुपर्ने यदि भएको भए चाँडै नै प्रहरीसँग सहकार्य गरिने जनाएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रहरीले पैदल यात्रुलाई समस्यामा पार्न नहुने समेत बताए ।

‘हामी तत्कालै यो विषयमा डिआइजी साबसँग छलफल गर्छौं,’ उनले भने, ‘वर्षौंपछि आएका आफन्तलाई पनि विमानस्थलमा स्वागत गर्न नपाउने अवस्था रहनु हुँदैन ।’ उनले विमानस्थल हेर्नकै लागि जानेले समेत प्रवेश पाउनुपर्ने बताए ।

विमानस्थल प्रवेश गर्ने गाडी, ट्याक्सी वा मोटरसाइकलले सजिलै भित्र प्रवेश मात्र पाउँदैनन उनीहरूको सुरक्षा जाच समेत हुँदैन । विमानस्थलको प्रवेशद्वारमा खटिएको प्रहरीले पैदल हिँड्ने यात्रुलाई नै दुःख दिइरहेको हुन्छ तर गाडीबाट जानेको मतलब गरेको देखिन्न ।

गाडीबाट जानेहरूलाई सहजै प्रवेश दिने गरिएको छ । तर डिआइजी निरौलाले भने आफूहरूले सुरक्षा जाँच गरेरै मात्रै सर्वसाधारणलाई भित्र पठाउने गरेको दाबी गरे । ‘कहिलेकाहीँ सुरक्षा जाँचले गर्दा चक्रपथ नै जाम हुने कारणले मात्र जाँच नगरिएको हो,’ उनले भने, ‘तर हामी सुरक्षाको विषयमा अलर्ट नै छौं ।’

यसमा तपाईको प्रतिक्रिया