एक विदेशी नागरिक घर फर्किन लागेको दिन यसरी परे प्रहरीको फन्दामा

bidesi-saman

काठमाडौं – घुमघामका लागि पोखरा पुगेका नवीन (नाम परिवर्तन) को मोबाइलमा मेसेज आयो( तपाईंको एटीएमबाट ७० हजार निकालिएको छ ।’ यस्तो म्यासेज देखेपछि एटीएम कार्ड हराएर कसैले चलायो कि भन्ने आशंकामा हेरे, कार्ड साथमै थियो । उनले पैसा निकालेकै थिएनन् ।

अर्काको एटीएमको पिन नम्बर चोरी गरेर पैसा निकाल्ने गिरोह नेपालमा समेत रहेको सुनिरहेका उनले तत्काल बैंकमा खबर गरे । नेपाल इन्भेस्टमेन्ट बैंकमा अन्य ग्राहकबाट पनि यस्ता गुनासा आइरहेका थिए । गुनासोकर्ता ग्राहकले अन्तिमपटक पैसा निकालेको स्थान बुझदा अधिकांश ठमेल र दरबारमार्गका एटीएम बुथहरू देखिएपछि पिन चोरी भएको आशंकामा बैंकका अधिकारीले प्रहरीलाई खबर गरे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम बुथमा जडान भएका बैंकका क्लोज सर्किट टेलिभिजनका दृश्यबाट अनुसन्धान अगाडि बढाउँदा एक विदेशी नागरिकको गतिविधि शंकास्पद देखियो । ठमेल र दरबारमार्गमा एटीएम बुथ रहेको अन्य बैंकमा समेत घटनाबारे सर्कुलर गर्दै सीसीटीभी निगरानी गर्नेक्रममा कात्तिक ११ मा बिहानै उनै व्यक्ति ज्याठामा रहेको एटीएम बुथमा देखिएको सूचना पाएलगत्तै प्रहरी उनको पछि लाग्यो । ती विदेशी ठमेलबाट वसन्तपुरतिर लागे । उनी आफ्नो मोबाइल निकाल्थे र सेल्फी खिच्थे । केही समय घुमेपछि उनी ठमेलमै फर्किएर जगत होटलको कोठा नम्बर १०१ मा गए ।

होटलको लग बुकको विवरणअनुसार सो कोठा बुल्गेरियाका डिमो अटानासोभ स्टेफानोभको नाममा थियो । बिहानैदेखि उनको पछि लागेको ब्युरोको टोली कोठामा पुग्दा उनी सामान मिलाइरहेका थिए । प्रहरीले आफ्नो परिचय दिँदै उनको साथमा रहेको झोला खोतल्दा एटीएम, सपिङ कार्ड, १७ हजार अमेरिकी डलरलगायतका सामान निस्कियो ।

झोलामा जहाजको टिकटसमेत थियो । टिकटमा त्यसै दिनको मिति थियो । प्रहरी नपुगेको भए उनी बेलुका ८ बजे कतार एयरबाट बुल्गेरिया उडिसक्थे । आफ्नै देश फर्कंदा फर्कंदै अन्तिमपटक चोरीको पिन नम्बरबाट पैसा निकाल्दा उनी प्रहरीको निगरानीमा परे ।

‘एक महिनाको भ्रमण भिसामा नेपाल आएका उनको धन्दा नै अर्काको एटीएम कार्डको पिन र डाटा चोरी गरी पैसा निकाल्ने देखियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनीसहित ३ जना अपराधमा संलग्न देखिए पनि १ जना फर्किसकेका रहेछन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाईको प्रतिक्रिया