नक्कली पासपोर्टमा लण्डन जाँदा यसरी पक्राउ परेछन् :सिपी गजुरेल माओवादी नेता

भ्रम चिर्न युरोप

कात्तीक  १३ नेपालमा हाम्रो पार्टीले सुरु गरेको जनयुद्धले विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढिरहेको थियो । देशभित्र माओवादी युद्धलाई दमन गर्ने नीतिअन्तर्गत तात्कालीन सरकारले राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै हथकन्डा प्रयोग गरिरहेका थिए । हामी पनि त्यसको काउन्टरमा राष्ट्रिय–अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा जनयुद्धको रक्षा, विकासका लागि उत्तिकै प्रचार–प्रचारमा लागिरहेका थियौँ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

sipi-gugel

देशभित्र हाम्रा टाउकाको मूल्य तोकिएको थियो । यस्तो वेला अन्तर्राष्ट्रिय क्षेत्रमा जनयुद्धको विकासअनुसार प्रचारप्रसार पुगिरहेको थिएन । पार्टीले माथिल्लो स्तरबाटै प्रचारमा पहलकदमी लिने नीतिगत निर्णय लियो ।

म त्यसवेला पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा रिम कमिटीको सदस्य थिएँ । अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन पार्टीका तर्फबाट आफैँ विदेश पुगी अन्तर्राष्ट्रिय भाइचारा स्थापित गर्ने र नेपाली जनयुद्धको पक्षमा माहोल सिर्जना गर्ने निर्णय पार्टीको बन्यो । तर, जाने
कसरी रु यस विषयमा रिम कमिटीमा पनि छलफल चल्यो । त्यो कमिटीले पनि हाम्रो पार्टीको त्यस्तो निर्णयलाई स्वागत मात्र गरेन, त्यसका लागि आवश्यक सहयोगसमेत पु-(याउने निर्णय ग-यो ।

तर, युरोप कसरी जाने रु भिसा कसरी बनाउने रु सम्पूर्ण प्रक्रिया कसरी सुरक्षित बनाउने भन्ने चुनौती थियो । हामीलाई नेपालमा टाउकाको मूल्य तोकिएको अवस्था थियो । त्यस्तो वेला विदेशबाट नै कसैले पासपोर्ट सहयोग गरे सजिलो हुने सल्लाह भयो । त्यसका लागि साथीहरूले पहल गर्नुभयो । त्यहीवेला एकजना ब्रिटिसले नेपालको क्रान्तिका लागि मेरो सहयोग हुनेछ भनेर भारतमा भिसा लागेको आफ्नो पासपोर्ट मलाई उपलब्ध गराएर सहयोग गर्न तयार हुनुभयो ।

अर्काको पासपोर्टमा मेरो फोटो
ती ब्रिटिस नागरिक, जसको नाम अहिले मैले बिर्सें,को पासपोर्टमा मेरो फोटो टाँसियो । पासपोर्टमा अरू सबै ठीकठाक देखिए पनि एउटा सानो समस्या थियो । मेरो फोटोको एकापट्टि कुनामा अलिकति खुम्चिएछ । तैपनि, त्यसैलाई प्रयोग गरेर म युरोप जाने भन्ने भयो । सन् २००३ को सेप्टेम्बरमा पार्टी निर्णयअनुसार म युरोप जान तयार भएँ ।

तर, यस विषयमा पार्टीभित्र र बाहिर पनि त्यत्ति छलफल गरिनु उपयुक्त हुँदैनथ्यो । पार्टीभित्र अध्यक्ष प्रचण्ड र हाल प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र रिमबाट जसले मलाई पासपोर्टमा सहयोग गर्नुभएको थियो, तीनजनालाई मात्र जानकारी थियो । सुरक्षाका दृष्टिले पनि यस विषयमा धेरैसँग छलफल गरिनु उपयुक्त हुँदैनथ्यो ।

पासपोर्टमा मेरो फोटा टाँसी तयार भएर आएपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘रिक्स पनि हुनसक्छ, के गर्ने ?’ मैले भने, ‘रिक्स मोल्नै पर्छ, मोल्ने ।’ त्यसपछि म जान तयार भएँ । नीतिगत रूपमा युरोप पार्टीको प्रचारका लागि जाने भन्ने भएको थियो । यो विषय कमरेड किरण (मोहन वैद्य)लाई पनि जानकारी थियो । तर, कहिले कसरी जाने भन्नेबारे भने उहाँलाई पनि जानकारी गराइएको थिएन । विषयको संवेदनशीलतालाई मध्यनजर गरी अन्य नेतालाई पत्तोसम्म दिइएको थिएन ।

अब टिकटका लागि पहल भयो । टिकट ‘कन्फर्म’ भयो । फ्लाइटअघि विमानस्थलमा हुने सबैजसो ‘चेकजाँच’ भइसकेको थियो । ‘ब्यागेज’ जाँच हुँदासम्म केही समस्या आएको थिएन । तर, अन्तिममा इमिग्रेसन चेकअप हुँदा उसले जहाँ फोटोे खुम्चिएको थियो, त्यहीँ हे-यो । उसले मेरो नाम के हो ? जान लागेको देशको कुन ठाउँ हो ? आदि इत्यादि सबै सोध्यो ।

‘जसको पासपोर्ट म प्रयोग गर्दै थिएँ, त्यहाँ भएका सबै विवरण सबै कन्ठै गरेर गएको थिएँ, फररर भनेँ । लन्डनको ठाउँ पनि कन्ठै थियो । हस्ताक्षर गर्न लगायो, मैले धेरैपटक प्रयास गरेर दुरुस्तै गर्ने भइसकेको थिएँ । त्यहीअनुसार नै गरेँ । मलाई सोध्दा  उनीहरू स्वयं दुविधामा परिरहेका देखिन्थे ।

उसले शंका गर्न थाल्यो भन्ने मलाई परिरहेकै थियो । उनीहरूले अनेक खालका प्रश्न तेस्र्याउन थाले । मैले नअड्कीकनै सबै बताइरहेँ । त्यहीवेला एकजना ब्रिटिस महिला आइन् । उनका श्रीमान् ब्रिटिस हाई कमिसनमा काम गर्दा रहेछन् । उनका श्रीमान् लन्डन जाँदै रहेछन् । तिनी भिआइपी भएकाले उनलाई माथिसम्म जान दिएका रहेछन् । उनी आफ्ना श्रीमान्लाई छाड्न भनेर माथि पुगेर फर्केर आउँदै रहिछन् । मलाई केराकार गरिरहेकाहरूले ‘म्याडम ! अलिकति सहयोग गर्न सक्नुहुन्छ ?’ भन्दै बोलाए । उनले भनिन्, ‘किन नसक्नु ?’

त्यसपछि मलाई केरकार गरिरहेकाहरूले ‘उहासँग ब्रिटिस पासपोर्ट छ, तर पासपोर्टमा प्रयोग गरिएको उहाँको फोटोमा अलिकति समस्या देखिएको छ । यस विषयमा खोजीनीति गरेर हामीलाई सहयोग गरिदिनुहोस् न ।’

उनले पनि खुसी हुँदै भनिन्, ‘हुन्छ, म सहयोग गर्छु ।’ त्यसपछि ती महिला मसँग बयान लिन थालिन् । उनले पनि तिनै प्रश्न गर्न थालिन्, जुन पासपोर्टमा लेखिएको थियो । मैले पहिले दिएअनुसारकै जवाफ दिइरहेको थिएँ ।

लन्डनमा के गर्नुहुन्छ ?
मैले लन्डनकै एउटा अस्पतालमा काम गर्ने बताएको थिएँ । उनी लन्डनकै रहिछिन् । जुन अस्पतालमा मैले काम गर्ने बताइरहेको थिएँ, ती महिलाका आफ्नै काका ‘सर्जन’का रूपमा काम गर्ने रहेछन् ।

उनले भनिन्, ‘मेरो काका पनि तपाईंले काम गर्ने अस्पतालमै काम गर्नुहुन्छ ।’ म उनलाई खुसी बनाएर बयानबाट फुत्कन चाहान्थेँ । मैले भने, ‘राम्रै भयो, तपाईं मेरै अस्पतालमा काम गर्ने साथीको आफन्त हुनुहुँदो रहेछ । केही खबर भए भन्नुहोला, हाम्रो भोलि नै भेट हुन्छ, म सुनाइदिन्छु ।’

तर, उनले आजै मात्र टेलिफोनमा काकासँग कुराकानी भएको बताइन् । उनले सोध्दै गइन्, ‘तपाईं अस्पतालसम्म केमा जानुहुन्छ ?’ मैले भने, ‘सुरुङ मार्ग हुँदै जाने टेनबाट जान्छु ।’

उनी त ‘काहाँबाट ट्रेन चढ्नुहुन्छ ? कतिवटा स्टेसन पार गरेर पुग्नुहुन्छ ?’ आदि–इत्यादि पो सोध्न थालिन् । त्यसको सम्पूर्ण फेहरिस्त मलाई जानकारी हुने कुरा भएन । थाहा नपाएको कुरा गल्ती भन्नुभन्दा नबोल्नु उचित ठानेँ । त्यसपछि मैले उनलाई भनेँ, ‘तपाईं एउटा ब्रिटिस सरकारको कर्मचारी, म एउटा ब्रिटिस पासपोर्ट प्रयोग गर्ने मान्छे । तपाईं मलाई किन यतिधेरै केराकार गरिरहनुभएको छ ? के तपाईं इन्डियन पुलिस अफिसर्स हो र ? तपाईं एउटा ब्रिटिस नागरिकको हैसियतमा बस्नुस् न । तपाईंलाई आफ्नै देशका नागरिकलाई यसरी केरकार गर्ने अधिकार कसरी मिल्छ ? त्यो पुलिस अफिसर्सले गर्ने काम हो ।’

उनी रातोपिरो भइन् । भनिन, ‘ल भइहाल्यो, अब म तपाईंलाई प्रश्न गर्दिनँ ।’ उनले त्यसपछि मलाई केराकार गराउन लगाएकाहरूलाई भनिदिइन्, ‘उहाँ लन्डनकै हो भन्नेमा म कन्फर्म छैन, जे गर्नुहुन्छ तपाईंहरू आफैँ गर्नुहोस् ।’

अनि कुट्न थाले

त्यसपछि त म पक्राउ परिहालेँ ।

पक्राउ गरेपछि पनि मलाई उनीहरूको त्यही प्रश्न थियो, ‘तपाईं को हो ? काहाँ जान लाग्नुभएको ? हामीलाई तपाईंको पासपोर्टमाथि शंका छ । अब तपाईंका बारेमा अनुसन्धान हुन्छ ।’

मैले त्यही कुरा दोहो-याइरहेँ । तर, उनीहरूले किन ती महिलाले पनि शंका छ भनिन् त ? भने ।

‘त्यो म कसरी जानूँ ? उनले किन मलाई शंका गरिन्, तपाईंहरू सोध्नुहोस् न के सोध्नुहुन्छ ? किन तपाईंहरू मलाई आधारविना गिरफ्तार गरिरहनुभएको छ ?’

विस्तारै उनीहरू कडा हुन थाले । ममाथि याताना दिन सुरु गरे । ‘यो पासपोर्ट तपाईंको होइन, नढाट्नुहोस्,’ उनीहरू भन्थे ।

मलाई रातभर सुत्न त के बस्नसमेत दिएनन् । अनिँदैमा रात बिताइयो । बिहान उनीहरूले एकजना ब्रिटिस हाइकमान्डको मान्छेलाई झिकाइसकेका रहेछन् । उनी बिहानै आइपुगे । आउनेबित्तिकै उनले भने, ‘तपाईंलाई कस्तो छ ?’

मैले भनेँ, ‘पहिले दिसापिसाब गर्ने वातावरण मिलाई दिनुहोस्, मलाई उहाँहरूले दिसापिसाब गर्नसमेत दिइरहनुभएको छैन ।’ उनले ‘उहाँलाई किन ट्वाइलेट जान नदिएको ?’ भने । त्यसपछि मात्र मैले दिसापिसाब गर्न पाएँ ।

दिसापिसाब गरिसकेपछि उनैले मलाई भने, ‘कफी खानुहुन्छ ?’ मैले ‘बिहानको समय हो, कफी पिउँदा राम्रै हुन्छ, प्लिज’ भनेँ । कफी खायौँ । उनलाई त्यो पासपोर्ट मेरो हो–होइन भनेर ‘भेरिफाई’ गर्न झिकाइएको रहेछ ।

‘तपाईंलाई यिनीहरूले मुद्दा लगाउने तयारी गरेका रहेछन्, हामीलाई अफिसियल्ली यो तपाईंले प्रयोग गरिरहेको पासपोर्ट भेरिफाई गरिदिन औपचारिक लेखेर पठाएकाले त्यही ड्युटी पूरा गर्न म यहाँ आएको हुँ ।’ म केही बोलिनँ । उनले अगाडि भने, ‘तपाईंले बोकेको पासपोर्ट पेरिसबाट ‘इस्यु’ भएको रहेछ,  म अब त्यहीँ पठाइदिन्छु तपाईंको फोटो खिचेर । त्यहाँ फोटो मिल्यो भने म प्लेन टिकटसहित आउँछु, फोटो मिलेन भने म केही गर्न सक्दिनँ ।’

त्यसपछि मैले भने, ‘ठीक छ, तपाईं आफ्नो ड्युटी गर्नुहोस्, म कन्फर्म छु मेरो पासपोर्ट भेरिफाई भएर आउनेछ ।’
तर, उनी आएनन् । म निश्चित भएँ, ‘म फसेँ ।’

ममाथि प्रश्नको झटारो सुरु भयो, ‘तपाईं को हो ?’ मैले त्यही जवाफ दो-याइरहेँ ।

‘किन ढाँट्नुहुन्छ ? तपाईं त्यो मान्छे होइन भन्ने प्रमाणित भइसक्यो । अब नढाँटे हुन्छ,’ उनीहरू भन्थे ।

मेरो जवाफ अझै फेरिएको थिएन । उनीहरूले धम्की दिए, ‘तँलाई मारेर हामी समुद्र्रमा फालिदिन्छौँ, पक्राउ परेकोसमेत कसैलाई थाहा छैन।’

उनीहरू प्रश्न सोध्दा बक्सिङ हान्थे । एकपटक मैले नछेकेको भए, देब्रे आँखा फुट्ने रहेछ ।

सोही दिन साँझपख त्यहाँको प्रहरीका ‘हाइलेबल’ अधिकारी बयानका लागि आए ।

‘तपाईंले बयानमा सबै खुलस्त भनेको भए हुन्थ्यो, तपाईंले दुःख पाउने हुनुभयो । तपाईंको घर नेपाल रहेको हामीले पत्ता लगाइसक्यौँ । ल अब आफ्नो सबै कुरा बताउनुहोस् ।’

म अचम्मित भएँ । मनमनै प्रश्न गरेँ, ‘कसरी थाहा पाए ?’

म पक्राउ परेपछि बिबिसीले समाचार दिइसकेको रहेछ । म जसको पासपोर्ट प्रयोग गरेर जाँदै थिएँ, उनले म नपुगेपछि पक्राउ परेको ठानेर समाचार बाहिर ल्याएका रहेछन् । मलाई लाग्यो, ‘पासपोर्ट भेरिफाई गर्न ब्रिटिस हाइकमान्डबाटै मान्छे झिकाएझैँ अब नेपालबाटै मान्छे झिकाएर भेरिफाई गर्ने भए ।’

उनीहरू भन्थे, ‘तपाईंका बारेमा बाहिर सबै थाहा भइसक्यो, सरकारलाई पनि जानकारी भइसक्यो । तपाईं हामीले सोचेकोजस्तो होइन रहेछ, तपाईं भिआइपी हुनुहुँदोरहेछ ।’

त्यसपछि भने मैले वास्तविक कुरा बताएँ । आफू नेपालको माओवादी नेता भएको जानकारी दिएँ, ‘नेपालमा मेरो टाउकाको मूल्य तोकिएको छ । हामी नेपालमा राजतन्त्रको अन्य गर्ने र जनवादी राज्यसत्ता स्थापनाका लागि लडेका मान्छे हौँ । हाम्रो लडाइँ भारतसँग हुँदै होइन । त्यही टाउकाको मूल्य तोकिएकै कारण मैले ‘आइडेन्टिटी’ बदलेर जान लागेको हुँ,’ मैले भने ।

उनीहरूले भने, ‘ल ठीक गर्नुभयो । कुरा यही हो । तपाईंले भनेर राम्रो गर्नुभयो । तपाईंका बारेमा भएको अनुसन्धानमा सबै पत्तो लागिसकेको छ ।’

‘आतंककारी सेलमा राख्नू’

पक्राउपछि बयान लिने र केरकार गर्नेहरू कति आए कति ? एकथरि आउँथे, एकथरि सोध्थे । अर्काेथरि आउँथे, अर्कोथरि सोध्थे । एकपटक चेन्नाई एयरपोर्टको मुख्य हाकिम पनि आए । उनले सीधै भने, ‘तपाईं उतै जान चाहनुहुन्छ कि नेपाल ?’

उसले भारत सरकारले अहिलेसम्म तपाईंलाई उतै पठाइदिने सोचेको पनि बतायो । मलाई लाग्यो, भारतको पनि नेपालको राजतन्त्रसँग खटपट भइरहेकै छ, भारतविरुद्ध हाम्रो आन्दोलन नभएका कारण उसले मलाई उतै पठाइदिने भयो ।’ मैले भनेँ, ‘मलाई नेपाल होइन, उतै पठाइदिनुहोस् ।’

त्यसक्रममा मलाई व्यवहार पनि राम्रै गर्न थालेका थिए । राम्रै खाना पनि दिए । ४ बजे हामी भेटौँला भन्दै उनी गएका थिए । तर, उनी आएनन्, अन्य मान्छेहरू आए ।

एयरपोर्टमा प्रहरीको टिम नै आएर बसेको रहेछ मलाई लिन । त्यसपछि मलाई एउटा कागजमा सही गराउन खोजे, मैले मानिनँ । उनीहरूले मलाई तामिलनाडु प्रहरीको जिम्मा लगाए ।

तामिलनाडु प्रहरीको एयरपोर्टमै एउटा थाना रहेछ, मलाई त्यहीँ लगेर राखे । तर, त्यहाँ आन्ध्रप्रदेशका स्पेसल अनुसन्धानका एकजना इन्स्पेक्टर आएर बयान लिन थाले । स्पेसल अनुसनधानका इन्स्पेक्टरले सोध्यो, ‘तपाईंले अहिलेसम्म दिएको बयान सबै झुटो हो । तपाईं दण्डकारण्डयमा माओवादी नेता भेटेर आउनुभएको हो, किन त्यो भन्नुहुन्न ?’

मैले आफू सीधै नेपालबाट आएको बताए पनि उसले पत्याएन । मलाई उसले आन्ध्रप्रदेशमै लैजान चाहेको रहेछ । तर, तमिलनाडु प्रहरीको अडानका कारण मलाई उसले आन्ध्रप्रदेश लैजान सकिरहेको थिएन ।

त्यो थाहा पाएपछि मैले भनेँ, ‘वैधानिक इन्स्पेक्टर को हो ?’ दुईजनाले दुईथरि कुरा किन सोधिरहनुभएको छ । एयरपोर्टबाट पक्राउ गरेर ल्याउने तपाईं हो कि अर्काे हो ? तपाईंको कस्टडीमा भएको मान्छेलाई किन यसरी प्रश्न सोधिरहनुभएको छ ?’

त्यसपछि दुवै चुप लागेर रातो आँखाले हेर्न थाले । मलाई लागेको थियो, आन्ध्रपदेश लगे भने मलाई मार्न सक्छन् ।

बयान लिएपछि राति करिब १० बजेतिर फेरि बयान लिएर गाडीमा राखे । कहाँ लाँदैछन् भन्ने केही जानकारी दिएनन् । मनमा चिसो पस्यो, ‘आन्ध्रप्रदेशको प्रहरीलाई जिम्मा नदिएर तामिलनाडु प्रहरीले नै मार्ने योजना पो बनाएछन् कि ?’

मैले सोधेँ, ‘मलाई कहाँ लान खोजिएको हो ?’ उनीहरू भन्थे, ‘हामीलाई पनि थाहा छैन, माथिको आदेशले लान खोजिएको हो ।’ तीनवटा गाडीको बीचमा राखेर मलाई रातको समयमा लिएर हिँडे । मध्यराततिर एउटा घरअघि पु-याए । एकजनाले ढोका खोल्यो । प्रहरीले मलाई ऊसमक्ष बुझाए । एउटा आदेश जारी गरिएको रहेछ, ‘आतंककारीको आशंकामा आतंककारी सेलमा राख्नू ।’

त्यो कोर्टको आदेश रहेछ । नेपालमा कोर्ट बिहान १० बजेदेखि ५ बजेसम्म लाग्थ्यो । तर, त्यहाँ त रातमा पनि लाग्दो रहेछ । त्यसपछि मलाई सेन्ट्रल जेल पु-याए । त्यसपछि मलाई लाग्यो, ‘अब भने मलाई मार्न चाहिँ नमार्ने भए ।’ त्यसवेला बिहानको २ बजेको थियो ।

भारतको जेलमा कठिन दिन

जेल पुग्दा तिर्खाले प्याकप्याक भइरहेको थिएँ । त्यहाँ हिन्दी बोल्ने दुईजना रहेछन्, उनीहरूले मलाई कसरी कुन मुद्दामा पक्राउ परेको भनेर सोधीखोजी गरे । तिर्खा लागेकाले त्यहाँ धाराको पानी खान खोज्दा उनीहरूले त्यो पानी नखान भने । त्यहाँ पानी पनि बाहिरबाट मगाएर खानुपर्ने रहेछ । उनीहरूले पानी र चिया दिए । उनीहरूले पानी खान दिएकामा आँत सन्तुष्ट भयो ।

त्यहाँ जेलभित्र पनि थुप्रै जेल हुँदा रहेछन्, एउटै जेलका मान्छेहरूसँग पनि भेटघाट हुँदो रहेनछ । एउटा वार्ड यता, अर्को उता । त्यहाँ मलाई जे आरोप लगाइएको थियो, त्यहाँका मुख्यमन्त्री रहेकी जयललिताको मन्त्रीमण्डलको भ्रष्टाचारको समाचार लेखेको आरोपमा स्थानीय समाचारपत्रका एकजना सम्पादकलाई पनि पक्राउ गरी राखिएको रहेछ । उनीसँग दुई–चार दिन बस्न पाइयो ।

केही दिनपछि विदेशी बस्ने वार्डमा सारे । त्यसको केही दिनपछि फेरि अर्कोमा सारे । तीन दिनपछि मेरी श्रीमती मलाई भेट्न आइपुगिन् । उनी बिबिसीको समाचार र पत्रपत्रिका छापिएको समाचार पढेर खोज्दै आएकी रहिछन् ।

जेलमा रहँदा एकजना वकिल र मेरी श्रीमतीलाई मात्र भेट्न दिइन्थ्यो । भारतको जेल नेपालको भन्दा निकै गएगुज्रेको । नर्कजस्तो । उनीहरूलाई मन लागेका वेला जेलका वार्ड सारिदिन्थे । अदालत लैजाँदा मिडियासँग बोल्नसमेत दिँदैनथे । यसरी नै  मैले भारतमा सवा ३ वर्षको जेलजीवन बिताएँ ।

यसमा तपाईको प्रतिक्रिया