प्रचण्डकी बहिनी भन्छिन्– २५ वर्ष भयो टिका लगाउन नपाएको, यसपालि पनि साइत जुरेन

prachanda-ko-bahini

यसपाली नि यस्तै भो दिदी, अर्को साल आउने छु तिहारमा…

यो गीतले मन नरुवाउने दिदी र भाई कमै होलान् । तिहारमा दिदीको हातबाट टिका र माला लगाउन नपाउने कल्पनाले मन अमिलो नहुने को होला र ?

हिन्दूहरुको चाड तिहार अरु चाडभन्दा सौम्य र बढी भावनात्मक मानिन्छ– खासगरी दिदी र भाईका लागि त विशिष्ट नै भनौं ।

सप्तरंगी टिका अनि मगमली फूलको मालामा सजिएर दाजुभाईंहरुको लामो आयूको आशिस दिन्छन् दिदी बहिनीहरुले ।

तर सबै दिदीभाईहरु यस्तो भाग्यमानी हुँदैनन् । झन वैदेशिक रोजगारीको बाध्यताले विदेशीएका दाजु भाइहरुको अवस्था त कल्पना पनि गर्न नसकिने पीडादायी, खाली निधार छामेर निराशामा डुब्नु नै नियती ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डकी बहिनी पनि यस्तै नियती बोक्नेमा पर्छिन् ।

६ भाई बहिनी, सबै बहिनीको एक्लो दाजु प्रचण्ड । एक्लो दाजुको झनै माया पलाउँछ दिदीहरुमा । भूमिगत जीवन प्रचण्डको, त्यसमा पनि चाडबाड, धर्मकर्मप्रतिको वितृष्णा । अप्सरा भन्छिन्– ४९, ५० साल अघि त यसो आक्कलझुक्कल भेटघाट हुन्थ्यो, तर त्यसपछि दाई युद्दमा लाग्नुभो, टिकाको त कल्पना पनि गर्न नसकिने ।

जीवनका अधिकांश वर्ष भूमिगत भएर बिताए प्रचण्डले । चाडपर्व भनेपछि खासै वास्ता पनि नगर्ने प्रचण्ड । “पहिलो पनि त्यसरी बस्न त कहाँ पाइन्थ्यो र, कहिले मौका जुरेपछि चाडबाडका बेला घरमा भेटिन्थे दाई । हामीले करै लगाएपछि मन राख्दिन टिका लगाइदिने हो । ४८ सालपछि त त्यो पनि भएन ।” उनले भनिन् ।

यसवर्ष उनको धोको थियो दाजुलाई टिका लगाइदिने । त्यसो त प्रचण्ड नास्तिक हुन । धर्ममा विश्वास नगर्ने । “बहिनीको मन राख्न टिका त लगाउन दिन्थे होलान्, तर यसपाली पनि नहुने भो” उनले भनिन् ।

टिकाभन्दा पनि परिवारका सबैसँगै बसेर कुराकानी गरेर रमाईलो गर्न प्रचण्डले बढी रुचाउने अप्सराले बताईन । “धार्मिक हिसाबले भन्दा पनि सामाजिक रुपमा परिवारबीच भेटघाटलाई बढी महत्व दिन्थे दाईले । घरमा कहिले बस्न नपाएर पनि होला” उनले भनिन् ।

प्रचण्ड परिवारको विशेषता नै भनौं, परिवारका सदस्यहरुबीच एउटा बलियो परम्परागत जस्तो लाग्ने सम्बन्ध देखिन्छ । प्रचण्ड पनि पाच बहिनीका एक्ला दाजु, उनको पनि एकमात्रै छोरा । यो पक्ष भावनात्मक सम्बन्धलाई बल दिने कारण बनेको हुनसक्छ । त्यसैले प्रचण्ड र सीता होस् या उनी र बहिनी हुन या उनका छोराछोरीबीचको सम्बन्ध किन नहोस्, त्यहाँ एक प्रकारको बलियो सम्बन्ध देखिन्छ ।

अप्सरा यसपाली भने अलि बढी नै उत्साहित थिइन दाजुलाई टिका लगाउन । तर संयोग जुरेन उनका लागि ‘यो वर्ष चाँही दाजुलाई टिका लगाउन पाइन्छ भनेर निकै खुशी थिए, तर यता मेरो घरमा जुठो प¥यो, ससुराको देहान्तले मेरो टिका रोकियो ।’ ‘०५० सालपछि द्वन्द्वकाल सुरु भयो, त्यसपछिको उतार चढावहरुले दाजुलाई टिका लगाउन पाइएन’– उनले भनिन् ‘यो वर्ष पनि साइत जुरेन त !’ टिका लगाउन नपाएपनि टिकाको दिन प्रचण्डलाई भेट्न बालुवाटार जाने भने अप्सराले बताइन । ‘दाजुले बोलाएपछि जान्छु र भेटघाट रमाइलो गरी चित्ता बुझाउनु पर्ला ।’

२५ वर्षपछिको यो वर्षको टिका पनि लगाउन नमिल्ने भएपछि केटाकेटीहरुसँगै बसेर रमाइलो गर्ने उनको योजना छ । परिवारकी जेठी बहिनी उनी, भन्छिन्– ‘मैले टिका लगाउन नपाएपनि अरु बहिनीहरु छन्, दाजुलाई तिनीहरुले टिका लगाएको हेरेर बस्छु ।’

यसमा तपाईको प्रतिक्रिया