महाअभियोग विफल भए सरकार ढल्छ : काँग्रेस नेता पौडेल

नेपालगन्ज, १३ कात्तिक । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित आयुक्त लोकमानसिंह कार्की विरुद्ध लगाइएको अभियोग पारित हुन नसके सरकार विघटन हुने बताएका छन् ।

 बाँकेको राप्ती नदीले पुर्याएको क्षतिको अवलोकनपछि आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले महाअभियोग पारित हुन नसकेका सरकार असफल भएको ठहर्ने जिकिर गरे । ‘बर्तमान सरकारका प्रधानमन्त्रीको पार्टीले ल्याएको महाअभियोग प्रस्ताव असफल भए पुष्पकमल दाहाल सरकारको औचित्य सकिन्छ,’ पौडेलले भने ।

शनिबार नै नेपालगन्जमा भएको अर्को एक कार्यक्रममा नेपाली काँग्रेसका पूर्व उप–सभापति समेत रहेका पौडेलले संविधान कार्यान्वयन नभए देश गम्भिर संकटमा फस्ने भएकोले संविधान कार्यान्वयनका लागि एकजुट हुने आह्वान गरे । मुस्लिम संघ नेपाल बाँकेको प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन नभए सवैले पाएको अधिकार गुम्ने बताए । ‘संविधान कार्यान्वयन भएन भने देश संकटमा फस्ने छ र अहिले हामीले पाएको अधिकार सवै गुम्ने छ,’ पौडेलले भने ।

नेपालको संविधानमा सवैको अधिकार सुनिश्चित भएको जिकिर गर्दै उनले बर्तमान संविधानले सवैलाई बराबरीमा पुर्याउने अधिकार दिएको बताए । मधेसको जायज माग पूरा हुनुपर्नेमा काँग्रेस सहमत भएको उनले स्पष्ट पारे । ‘मधेसी मोर्चाले उठाउँदै आएका जायज माग पूरा हुनुपर्ने पक्षमा काँग्रेस छ, तर राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाउने मागमा काँग्रेसले सहमती जनाउन सक्दैन,’ पौडेलले भने ।

२०६४ माघसम्म तीन चरणको निर्वाचन सम्पन्न नभए देशमा संवैधानिक संकट उत्पन्न हुने बताउँदै उनले निर्वाचनको बातारण बनाउन सरकार र प्रमुख राजनीतिक दलसँग आग्रह गरे । उनले निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशनसमेत दिए । नेपाली काँग्रेस बलियो भएमात्र लोकतन्त्र संस्थागत हुने धारणा पौडेलले राखेका थिए । ‘लोकतन्त्र र काँग्रेस एक अर्काका परिपूरक हुन्, काँग्रेस बलियो भएमात्र लोकतन्त्र संस्थागत हुन सक्छ, काँग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुनेछ,’ उनले कार्यकर्तालाई भने ।

यसमा तपाईको प्रतिक्रिया