भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ्ग ल्याउने : राजदूत रणजित राय

काठमाडौँ, १४ कात्तिक । नेपालका लागि भारतीय राजदूत रणजित रायले आगामी बुधबारबाट हुने भारतीय रास्ट्रपति  प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ ल्याउने बताएका छन् ।

आज रिपोटर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा देउसीभैलो खेल्न पुगेको सञ्चारकर्मीको टोलीसँगको कुराकानीमा राजदूत रायले भन्नुभयो, “उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रङ भरिन्छ, यसका साथै दोस्ती प्रगाढ बन्छ”– उहाँले भारतीय रास्ट्रपति  मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उत्तिकै महत्व दिएको समेत बताउनुभयो ।

राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवैतर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमण भइरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय रास्ट्रपतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत बनाउने विश्वास बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्रीस्तर र विदेशमन्त्रीस्तरबाट द्विपक्षीय भ्रमण भइरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो ।”

 उहाँले रास्ट्रपति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भइसकेको समेत जनाउनुभयो । रास्ट्रपति मुखर्जीको पूर्वनिर्धारित कार्यक्रम यथावत् रहेको बताउँदै उहाँले भन्नुभयो, “उहाँ काठमाडौँ, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।”

कार्यक्रममा राजदूत रायले सम्पूर्ण नेपालीलाई दिपावलीको शुभकामनासमेत दिनुभयो । “सबै नेपालीमा सुख, शान्ति, समृद्धि होस्, नेपाल–भारतबीचको निकटता अझै बढोस्, हामीबीचको मित्रता अझै प्रगाढता होस् ।” कार्यक्रममा राजदूत राय क्लबका सभापति ऋषि धमलासँग छमछमी नाचेका थिए ।

यसमा तपाईको प्रतिक्रिया