पाकिस्तानले गरेको बमबारीका कारण ८ जना भारतीयको मृत्यु

कात्तिक १७ । जम्मू कास्मिर विवादले उग्र रुप लिएको छ । पछिल्लो तीन महिनायता त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने कैयौ घाइते र विस्थापित भएका छन् ।

मंगलबार पाकिस्तानले गरेको बमबारीका कारण ८ जनाको मृत्यु भएको भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेहरु भारतीय नागरिक रहेको अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।

समाचार संस्था पीटीआईका अनुसार साबामा रमगढ सेक्टरमा पाकिस्तानले गरेको बमबारीका कारण पाँच जनाको मृत्यु भएको छ भने अन्य नौ घाइते भएका छन् । त्यस्तै सोही क्षेत्रमा गरिएको अर्काे गोलाबारीका कारण एक व्यक्तिको आत्तिएर मृत्यु भएको छ ।

साथै पुछ जिल्लाको नौशेरा सेक्टरमा बमले दुई महिलाको मृत्यु भएको छ तथा अन्य १३ जना घाइते छन् । प्रहरीका अनुसार पाकिस्तान तर्फबाट लगातार गोलाबारी जारी छ तथा यसमा सेनाका लागि काम गर्ने तीन कुल्ली पनि घाइते भएका छन् ।

भारतले सर्जिकल स्ट्राइक गरेको दाबी गरेपछि अहिलेसम्म सीमामा भएको गोलाबारीमा १८ जनाको मृत्यु भएको छ जसमध्ये १२ आम नागरिक रहेका छन् । यी घटनाहरुमा ८० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया