काठमाडौं को सुरक्षा ब्यबस्था कडा भैरहदा सुर्खेतमा प्रहरी चौकिमा आक्रमण, हतियार आक्रमणकारिको कब्जामा

१७ कात्तिक, सुर्खेत । सुर्खेतको आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार कब्जा गरेका छन् । करिव ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेका थिए । उनीहरुले प्रहरी चौकीमा तोडफोड गर्नुका साथै प्रहरीका हतियारहरु खोसेका थिए । क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको थियो । उक्त विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राती चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका हुन् । प्रहरीले लुटिएका सबै हतियारहरु फेला पारिएको दावी गरेको छ । लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारिएको प्रहरीले जनाएको छ । चौकी आक्रमण र हतियार लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काफलकोट–९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी, चन्द्रबहादुर सिंहलगायत छन् ।

यसमा तपाईको प्रतिक्रिया