राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री दाहालबीच आपसी हितका विषयमा हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता

dahal-mukhar-ji
काठमाडौँ, १७ कात्तिक ।
नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज हायात रिजेन्सी होटलमा शिष्टाचार भेटवार्ता भएको छ ।

 उच्चस्तरीय सो भेटमा उहाँहरुबीच दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका बारेमा वार्तालाप भएको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीले प्रधानमन्त्री दाहालको भारत भ्रमण र केही दिन अघि भारतको गोवामा भएको दुई मुलुकबीचको उच्चस्तरीय भेटवार्ताले आपसी सम्बन्ध थप मजबुत बनाएको विचार व्यक्त गर्नुभएको मन्त्री डा महतले बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले दुई मुलुकबीच रहिआएको सुमधुर सम्बन्ध अरु सुदृढ बनाउँदै लान नेपालका तर्फबाट कुनै कमी रहन नदिने विश्वास दिलाउनुभएको थियो । साथै, उहाँले नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको र संविधानमा समेट्नु पर्ने केही विषयलाई समेट्ने प्रयास भइरहेको भारतीय राष्ट्रपतिलाई अवगत गराउनुभएको थियो ।

भेटमा नेपालका तर्फबाट मन्त्री महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मुख्यसचिव डा सोमलाल सुवेदी र परराष्ट्र सचिव शङ्करदास वैरागी हुनुहुन्थ्यो भने भारतका तर्फबाट उच्च अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

 

यसमा तपाईको प्रतिक्रिया