ओलीका नाममा किन राखियो गलत सूचना ? कसले चलाउँछ फेसबुक ?

bhoj-oli-gayenan

रात्रिभोजमा सहभागी हुँदै ओली र खनाल

काठमाडौं, १८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा सामाजिक सञ्जाल फेसबुकमा गलत सूचना पोष्ट भएको छ ।

बिहीबार बिहान करिव साढे आठ बजे पोष्ट भएको स्ट्याटसमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विदेश रहेको उल्लेख छ । जब कि नेताद्वय नेपाल र खनाल राजधानीमै छन् ।

अध्यक्ष ओलीको भनिएको फेसबुक वालमा लेखिएको स्ट्याटसमा वरिष्ठ नेता नेपाललाई भियतनाम र खनाललाई जापानमा रहेको उल्लेख गरिएको छ ।

स्ट्याटसमा भनिएको छ, ‘माधवकुमार नेपाल कमरेड भियतनाम तथा झलनाथ खनाल कमरेड जापानको भ्रमणमा रहनु भएको साथै मेरो व्याक्तिगत समस्याको कारण हामी तीनैजना गणतन्त्र भारतका राष्ट्रपति महामहिम श्री प्रणव मुखर्जी ज्यूको स्वागतमा लैनचौरमा आयोजित कार्यक्रममा सहभागी हुन नपाएकोमा दुःख लागेको छ । मित्रराष्ट्र भारतका राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल भारत सम्बन्धमा थप उर्जा थप्ने कुरामा म लगायत नेकपा एमाले पार्टीको तर्फबाट आशाबादी छु ।’

kp-oliयसरी गलत सूचना र सन्देशसहित मुलुकको दोस्रो ठूलो दल एवम् पूर्व प्रधानमन्त्री भइसकेको व्यक्तिका नाममा लेख्न पाइन्छ कि पाइँदैन सोधीखोजीको विषय बनेको छ ।

अध्यक्ष ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालसँग फेसबुकका विषयमा राखिएको जिज्ञसामा भने, ‘अध्यक्ष ज्यूले फेसबुक चलाउनु हुँदैन । खै कसले चलाएको छ । स्ट्याटसका विषयमा मलाई थाहा छैन । यस विषयमा खोजविन हुन्छ । गलत कुरालाई कसैले प्रोत्साहन गर्नु हुँदैन । दोषीलाई कारबाही हुन्छ ।’

लैनचौरस्थित भारतीय दूतावासमा नदेखिएका एमालेका शीर्ष नेताहरू भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि ह्यात होटेलमा राखिएको रात्रि भोजमा भने सहाभागी थिए । भोजमा अध्यक्ष ओलीका साथै वरिष्ठ नेताद्वय नेपाल र खनाल पनि सहभागी थिए ।

 

यसमा तपाईको प्रतिक्रिया