बिमलको शोकमा सिंगो वस्ती , काश्मिरमा मारिएका विमलको शव भारतले नदिने

bimal_tamang-indea-army
कात्तीक १८ भारत–पाकिस्तान सिमा क्षेत्रमा तनाव भएदेखि धरान ११ विष्णुचोक सोलिङका बलबहादुर तामाङ स्याङ्बो (विकास लामा) निकै चिन्तित थिए। राती अबेरसम्म उनी भारतीय न्युज च्यानल हेर्थे। दुई देशको सिमाक्षेत्रमा गोली हानहान भएको खबर सुन्दा उनको मन आत्तिन्थ्यो।
बलबहादुर र श्रीमती नरमायाका तीनभाई छोरामध्ये माइला किसोर र कान्छा छोरा विमल(२० बर्ष) भारतीय सेनामा भर्ती भएका थिए। सेभेन इलेभेन(७/११) गोर्खा रेजमेन्टका राइफल म्यान विमलको पल्टन गत जेठ महिनादेखि हिंसाग्रस्त क्षेत्र जम्मु कश्मिरमा थियो। भारत पाकिस्तानबीच अघोषित युद्ध शुरु भएपछि यता घरमा विमलका बुबा आमाको पनि निन्द्रा हराएको थियो। बुबा बलबहादुर राती एक बजेसम्म भारतीय न्युज च्यानल आजतक हेर्थे, अनि छोराको सुरक्षाको कामना गरिरहन्थे।

लक्ष्मी पूजाको दिन आइतबार बिहानै विमलले मोवाइलमा बुबा र आमासँग कुरा गरेका थिए। आफ्नो सुरक्षा पोष्ट(पहाडी क्षेत्र)भन्दा तल उनी सामान लिन आएका थिए। आमा नरमायाले सोधेकी थिइन्,‘नानी, टिभी हेर्दा त लडाइ चलिरहेको छ त। होस पुर्‍याउनु है।’ साहसिला विमलले ढुक्क रहन आग्रह गर्दै भनेका थिए, ‘तपाईहरु डराउनु पर्दैन, समाचारमा जे पनि भन्छ। हामीलाई डर छैन। पीर नर्गनुस् है।’
भोलीपल्ट गोवद्र्धन पूजाको दिन। देउसी भैलेको टोली आइरह्यो। सबैतिर खुशी र उमंग छाएको थियो। बेलुकी ५ बजेतिर बलबहादुर पनि पर्तिर चोकमा भर्खर देउसे नाच टोलीलाई दक्षिणा दिएर घर फर्केका थिए। श्रीमती नरमाया टापरी बुन्दै थिइन्। भारतीय नयाँ नम्बरबाट बलबहादुरको मोवाइलमा फोन आयो। त्यो नम्बर सधैँ झै छोराको नामको थिएन। उनको मनमा चिसो पस्यो। त्यसबेला अनायसै उनले भगवानलाई सम्झिए। डराउदै फोन रिसिभ गर्दा जुन खबर सुन्न नपरोस् भनेर कामना गर्थे, विडम्बना खबर त्यही थियो।

पुत्र शोकमा दिवंगत विमलका अामा नरमाया तथा पिता बलबहादुर तामाङ स्याङ्बो।

‘छोराको पल्टनबाट फोन आएको रहेछ, दुःखको कुरा सुनाउनु पर्नेछ भन्यो’–भावविह्वल हुँदै विमलका बुबा बलबहादुरले भने, ‘विहान पोष्टमा फायरिङ चलेको थियो, विमल शहीद भयो भने।’ यो दुःखद घटना बिहानै भएपनि अभिभावकलाई भने बेलुका मात्र खबर भएको थियो।

यो खबरले एकैछिन अघिसम्मको तिहारको रमझम र खुशी एकाएक बिलायो। परिवार, आफन्तजन र छरछिमेकमा उदासी छायो।

त्यही मध्यरातमा भारतीय सेनामा कार्यरत माइलो छोरा किसोर घर आइपुगेका थिए। उनका अनुसार पेट्रोलिङ गएर फर्कर्दै गर्दा पाकिस्तानतर्फबाट एक्कासी फायरिङ हुदा विमललाई गोली लागेको थियो। ‘यस्तो घटना सुन्दा ज्यादै नराम्रो लाग्छ, तर फाैजमा भर्ती भएपछि मर्ने बाँच्ने ठेगान हुदैन। जहाँ खटाएको छ, त्यहाँ जानु हाम्रो कर्तव्य हुन्छ’–उनले भने । उनको पल्टन भने अरुणाञ्चल प्रदेशमा छ । उनी भारतीय सेनामा भर्ती भएको झण्डै ४ बर्ष भयो।

विमल परिवारको कान्छा छोरा थिए। त्यसैले सबैको प्यारो पनि। तर, तिनै प्यारो छोराको अन्तिम पटक अनुहार पनि आमा बुबाले देख्न पाएनन्। शव घर ल्याउन प्रयास गरेपनि सम्भव भएन। विमलको मंगलबार नै भारतीय सेनाले सम्मानको साथ अन्तिम दाहसंस्कार गरेको थियो। मृतक विमलका दाजु किसोरका अनुसार लडाइमा मारिएकाले शव नेपाल ल्याउन नपाएको हो । ‘भारतकै कुनै ठाउँमा भए ल्याउन मिल्थ्यो, तर वीरगति पाएकोले नेपालमा ल्याउन मिल्दैन’, उनले भने । शव ल्याउन नपाए पनि उनको अस्तु ७ तारिखभित्र घरमा ल्याइदिन आग्रह गरेको विमलका बुबा वलबहादुरले सुनाए।

धरान १८ स्थित ज्ञानोदय उच्चमाविमा कक्षा ११ पढ्दा पढ्दै अढाई वर्षअघि भारतीय सेनामा भर्ती(लाहुरे) भएका थिए। विमल सानैदेखि साहसिलो थिए। कम बोल्ने तर ठिक कुरा मात्र बोल्ने। धेरै हिँडडुल नगर्ने, झै झगडादेखि टाढै रहने। त्यही भएर पनि बुबा आमालाई कान्छा छोराप्रति विश्वास र भरोसा थियो। ‘कम बोल्ने तर सही मात्र बोल्ने। गलत काममा हिँड्दैन भन्नेमा कान्छाको विश्वास लाग्थ्यो’, शोकमा डुबेका वलबहादुरले भने। विमल गत चैतमा छुट्टीमा आएर एक महिना घर बसेका थिए।

बैशाखमा फर्के लगत्तै जेठमा उनको पल्टन हिंसाग्रस्त क्षेत्र जम्मु कश्मिर गएको थियो। त्यतिबेला पल्टन फर्कदा विमलले दुश्मनलाई प्रहार गर्न भन्दै १६ इञ्चको २ वटा खुकुरी पनि लगेका थिए।

बलबहादुर र नरमायाको तीन भाई छोरा हुन्। ती मध्ये माइला र कान्छा भारतीय सेनामा भर्ती भए भने जेठा सञ्जय झापामा कुखुरा फर्म खोलेर बसेका छन्। तीनै भाई अविवाहित। बिहे गर्ने उमेर भइसकेकोले पालैपालो तीनै जनाको बिहे गरिदिने आमाबुबाको योजना पनि अधुरै रह्यो।

यसमा तपाईको प्रतिक्रिया