मुखर्जी भ्रमणमा ब्यस्त प्रधानमन्त्री प्रचन्डलाई अर्को झड्का: आफ्नै पार्टीबाट सक्किन सक्छ प्रचण्डको राजनैतिक जीवन

काठमाडौ, १८ कात्तिक– राजनीतिक नियुक्तिमा पहिले नै बनाएको आचार संहिता उल्लंघन र राजनीतिक मुद्दाहरुमा आत्मसमर्पण भएको भन्दै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रमा विवाद गहिरिएको छ । ‘छिमेकी देशसँग सन्तुलित सम्बन्ध’ बनाउने उदघोष साथ पार्टी सहभागि सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गठन गरेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक वैचारिक पहिचान नै गुमाएको भन्दै नेताहरु आक्रोशित हुन थालेका हुन् । prachande-new

माओवादी केन्द्र राजनीतिक संकटमा पर्दै गएपछि पार्टीका वरिष्ठ नेताहरु नै फेसबुकबाट आफ्ना भनाई सार्वजनिक गरी पार्टी संकटतर्फ गएको वताउन थालेका छन् । अघिल्लो सरकारकै पालामा बनाएको आचार संहिता उल्लंघन गरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालय लगायत अन्य राजनीतिक नियुक्ति गरेको, छिमेकी देश भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्न नसकेको लगायतका विषय नेताहरुले उठाउन थालेका हुन् ।

अघिल्लो सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका नेताहरुलाई स्वकीय सचिवालयमा परिवारका सदस्य र नातेदारलाई नियुक्ति दिएको भन्दै हुर्मत लिए पनि अहिले दाहाल स्वयंले छोरालाई स्वकीय सचिव र भाईलाई प्रशासनिक सल्लाहकार नियुक्त गरेकामा तिब्र विरोध भएको हो । प्रधानमन्त्री दाहालका भाइ नारायणलाई प्रशासनिक सल्लाहकार नियुक्त गरेकामा त वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले फेसबुकमै ब्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

‘हाम्रो पार्टी र अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको इज्जत, प्रतिष्ठा र मूल्यमाथि किन यति निर्मम प्रहार भइरहेको छ ?’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘हालै नियुक्त भएका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार उही हाम्रो पार्टीको केन्द्रीय समितिको सचिवालय सदस्य नारायण दाहाल नै हो भनेर किन प्रचार हुँदैछ ? यो हुनै सक्दैन । प्रशासनिक सल्लाहकारमा कोही नारायण दाहाल नाम गरेको पूर्ववरिष्ठ प्रशासक वा दक्ष प्रशासनविद्लाई नियुक्त गरिएको हुनुपर्छ । संयोगले नाम जुध्यो । बस । होइन र !’

यसअघिको सरकारमा गृहमन्त्री रहेका शक्ति बस्नेतलाई आफन्त र परिवारका सदस्यलाई चीन भ्रमणमा पठाएको भनेर फिर्ता बोलाउने समेत चेतावनी दिए पनि दाहाल स्वयंले अहिले भाइ र छोरालाई महत्वपूर्ण नियुक्ति दिएकामा कार्यकर्ता समेत आक्रोशित छन् ।

प्रधानमन्त्री भएर पनि जनताका पक्षमा काम गर्न नसकेको बरु अनावश्यक रुपमा भारतभक्ति देखाएर पार्टीको प्रतिष्ठा समाप्त पारेको आरोप अन्य नेताले लगाउन थालेका छन् । यस्तै अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्धको महाभियोगबारे पनि खुलेर पार्टी दृष्टिकोण राख्न नसकेको दाहालमाथि आरोप लागेको छ । निर्वाचन गरी संविधान कार्यान्वयन गर्ने दायित्व भए पनि सो दायित्व पूरा गर्नेगरी सरकार सञ्चालन नभएको र कांग्रेसले उठाउने हरेक अलोकप्रिय कामको बदनामी मात्रै माओवादीले बोक्न वाध्य भएको दाहालमाथि आरोप लगाइएको छ । भारतको गोवामा जाँदा प्रधानमन्त्री दाहालले आफ्ना परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारीको नाम काटेर निजी चिकित्सक युवराज भुसाललाई लगेको विषय समेत माओवादी भित्र उठ्न थालेको छ ।

  • आचार संहिता तोड्दै राजनीतिक नियुक्तिमा भाइ/छोरा ल्याएको
  • छिमेकी देशसँग सन्तुलित सम्बन्ध नराखेर भारतसामु लम्पसार परेको
  • बोलीको ठेगान नभएको नेताका छवि बनाएको
  • माओवादी आन्दोलनलाई विसर्जनको दिशामा पुर्याएको
  • आफ्नै सांसदले ल्याएको महाभियोग प्रस्तावमा अस्पष्ट रहेको
  • राजनीतिक निकास र चुनाव घोषणा गर्न असफल भएको

अख्तियार प्रमुख कार्की विरुद्धको महाभियोग प्रस्ताव आफ्नै पार्टीले दर्ता गरे पनि आफूलाई थाहा नभएको वताएर पन्छिन खोजेको भन्दै ढुलमुले र अवसरवादी नेताको छवि बनाएको नेताहरुले वताएका छन् । माओवादीसँग पछिल्लो पटक एकता प्रक्रियामा आएका नेताहरुले समेत पार्टी भित्र विश्वासको संकट बढ्दै गएकाले उपाय खोज्न ढिलो भइसकेको वताएका छन् ।

‘विचारमा संकट आए विचारको विकास गर्न सकिन्छ । राजनीतिमा संकट आए उपायको खोजी गर्न सकिन्छ तर विश्वासमा संकट आएपछि संकट गहिरिन्छ । आज माओवादी आन्दोलनभित्र र बाहिर विश्वासको संकट गहिरिँदैछ । उपायको अन्वेषण गर्ने बेला भइसक्यो’ केन्द्रीय सचिवालय सदस्य मणि थापाले लेखेका छन्, ‘हामीले पार्टी एकता गर्नु थियो गर्यौं । सरकारको नेतृत्व गर्ने अवसर आयो, गर्यौं तर परिस्थिति हाम्रो अनुकूल बनिरहेको छैन किनकि यसको जबाफ काठमाडौसँग छैन, दूरदराजका गाउँ दुःख पाएका कार्यकर्ता र जनतासँग छ, उनीहरूका कुरा सुन्ने धैर्य गरौं ।’

 

यसमा तपाईको प्रतिक्रिया