भारतीय राष्ट्रपति मुखर्जीलाई भेट्न काँग्रेसका नेताहरुको लर्को

ktm-kageresh
काठमाडौँ, १८ कात्तिक – नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग नेपाली काँग्रेसका नेताहरुले आज साँझ सामुहिकरुपमा शिष्टाचार भेटवार्ता गरेका छन् । राजधानीको ह्यात होटलमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र विकास निर्माणका परियोजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीसमेत रहेका काँग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिए । राष्ट्रपति मुखर्जीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ एवम् प्रगाढ भएको, दुई देशबीच विश्वासको बाताबरण मजबुत भएको, सद्भाव विकसित भएको र थप सहयोगका क्षेत्रहरु पहिचान भएको काँग्रेस नेताहरुको निष्कर्ष छ । सो अवसरमा भारतीय प्रौद्योगिकी संस्थान –आइआइटी) को अध्ययन कोटामा नेपाली विद्यार्थीलाई भारतीय विद्यार्थीसरह सुविधा दिने विषयमा समेत छलफल भएको बताइएको छ । भेटमा काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, गोपालमान श्रेष्ठ, डा मीनेन्द्र रिजाल र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

यसमा तपाईको प्रतिक्रिया