पाकिस्तान युद्धमा गोर्खा सैनिक प्रयोग नगर्न भारतलाई विप्लव माओवादीको चेतावनी

biplab-702x432
काठमाडौं, १८ कात्तिक । प्रचण्ड सरकारले भारतसँग अति नै लम्पसार परेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गर्ने भएको छ ।

विप्लव नेतृत्वको माओवादीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै शुक्रबार दिउसो १२ बजे रत्नपार्कबाट विरोध जुलुस निकालेर भारतीय दूतावास घेराउ गर्ने जनाएको छ ।

नेपालप्रति हेपाहा प्रवृति राख्दै आएको भारतसँग एउटा स्वाधिन देशको पहिचान देखाउनुको सट्टा उल्टै गुलामी गर्नतिर वर्तमान सरकार लागेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए ।

उनले अर्काे देशको राष्ट्रपतिलाई आफ्नो देशमा भित्र्याउन सार्वजनिक विदा दिइनु, राजधानीमा सेना समेत उतारेर अघोषित कर्फ्यू लगाइनु र जनतालाई ठूलो सास्ती दिनेगरी सडक बन्द गर्ने कार्यले वर्तमान सरकारको दलाल प्रवृति प्रष्टिएको बताए ।

पाकिस्तान युद्धमा गोर्खा सैनिक प्रयोग नगर्न माग

त्यसैगरी माओवादीले भारतीय सेनामा कार्यरत गोरखा सैनिकहरु फिर्ता गर्न पनि माग गरेको छ । पछिल्लो समय भारतले पाकिस्तानसँगको लडाइँमा गोरखा सैनिक उतारेको भन्दै त्यसको विरोध समेत माओवादीले गरेको छ । पाकिस्तानसँगको लडाइँमा कात्तिक १५ गते भारतीय गोरखा सैनिक धरानका विमल तामाङको मृत्यु भएको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया