भारतीय राष्ट्रपति मुखर्जीको सम्मानमा दिइएको राष्ट्रिय विदा आत्मसमपर्णको नांगो उदाहरण

bamdev-9
नेपालगन्ज, १९ कात्तिक ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मान गर्नु नेपालको दायित्व भएपनि लम्पसार परेर राष्ट्रिय विदा दिनु आत्मसमपर्णको नांगो उदाहरण भएको बताएका छन् । उनले भारतीय राष्ट्रपतिको सम्मानका लागि बर्तमान सरकारले अस्वभाविक ब्यवहार देखाएको बताए । सरकारले भारतीय राष्ट्रपतिको चाकडी गरेको उल्लेख गरे । ‘सरकारले अस्वभाविक सम्मान गर्नुको कारण बर्तमान गठबन्धन दलहरु भारतसँग त्राहिमान छन् भन्ने स्पष्ट हुन्छ,’–गौतमले भने ।

पूर्व उप–प्रधान एवम् गृहमन्त्री समेत रहेका गौतमले बर्तमान सरकारलाई नेपालीको नजरमा गिर्ने भन्दा विदेशीको नजरबाट गिर्ने डर भएकोले भारतको गुलामी गरिरहेको आरोप लगाए । उनले भने, ‘नेपाल स्वतन्त्र देश भएकोले भारत र नेपाली सरकारको अस्तित्व बराबर छ, बराबर अस्तित्व भएपछि मानमर्यादा पनि एउटै हुन्छ, सरकार ढल्छ भनेर सरकार भारतसँग डराउँदा राष्ट्रियता कमजोर भएको छ ।’  जनताको संविधान जारी भएपछि अतालिएका भारत लगायतका देश र केहि दलहरु संविधान असफल बनाउन नाङ्गो नाच नाचिरहेको जिकिर गर्दै उनले उनीहरुको अभियान सफल बनाउने काममा बर्तमान सरकारले साथ दिइरहेको बताए । ‘विदेशी र केहि राजनीतिक दल भारतको इसारामा संविधान असफल बनाउने अभियानमा छन्, उनीहरको अभियानमा बर्तमान सरकारले ‘प्यादा’ बनेको छ,’ बरिष्ठ उपाध्यक्ष गौतमले भने ।

संविधान संशोधनका लागि सरकार र मधेसी मोर्चा वीच भएको ३ बुँदे सहमति कार्यान्वयन हुनै नसक्ने जिकिर गर्दै गौतमले बर्तमान गठबन्धन सरकारले मधेसी मोर्चालाई कठपुतली बनाएका आरोप लगाए । संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक पर्ने भएकोले सरकार र मधेसी मोर्चाले भन्दैमा संशोधन नुहने स्पष्ट पारे । ‘संशोधन गर्न सकिने ब्यवस्था संविधानमै छ, अनि सरकार र मोर्चा वीचको सहमति किन चाहियो, उक्त सहमतिको कुनै तुक छैन,’ उनले भने, आवश्यक परे संशोधनका लागि एमालेले नै प्रस्ताव दर्ता गराउँछ ।’ तराईको भू–भाग आफ्नो बफौती नसम्झिन मधेसी मोर्चालाई उनले चेतावनी दिए । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भू–भाग आफ्नो भएको भन्ने भ्रम नपाल्न मधेसी मोर्चालाई आग्रह गर्दै गौतमले मधेसी दलले गत संविधान सभामा पाएको मत ११ प्रतिशतमात्र भएको बताए । मधेसमा काँग्रेसले ५०, एमालेले ३६ प्रतिशत मत प्राप्त गरेको उनले बताए ।

तराई–मधेसको सम्पूर्ण भू–भाग आफ्नो भएको दावी गर्ने मधेसी दलले अबको चुनावमा ५ प्रतिशत मतमा सिमित हुनेछन्,’ उनले भने, ‘जनतमत नै नभएका मधेसी दलले के आधारमा तराई आफ्नो भएको दावी गर्छन्, बुझ्नै सकिएको छ्रैन्, दावी गर्दा पनि उनीहरुले लाज मान्नु पर्ने हो ।’ नेकपा एमाले बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ, मोहर्रम, नेपाल सम्बतको अवसरमा आयोजित चियापान एवम् शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै एमालेका बरिष्ठ उपाध्यक्ष गौतमले नेपालमा परापूर्व कालदेखि विभिन्न जातजातिको बसोबास हुँदै आएकोले एउटा जाती वा समुदायको नाममा संघीय प्रदेश बन्न नसक्ने स्पष्ट पारे । नेपालमा विभिन्न जात र समुदायको बसोबास भएपनि सौहार्दपूर्ण बातावरणमा बसिरहेको उल्लेख गर्दै उनले यसलाई भत्काउने प्रयास गरिए एमालेले सहन नसक्ने बताए । ‘विभिन्न जातजाति बसोबास भएको देश नेपाल बाहेक अरु देश छैनन्, उनले भने ।

एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति श्रीमति किरण कोइराला, माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर गहतराज, तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री पशुपति दयाल मिश्र लगायत विभिन्न राजनीतिक दलका नेता, प्राध्यापक, शिक्षक, कानून ब्यवसायी, उद्योगी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया