राष्ट्रपति भण्डारी मंसिरको दोश्रो साता भारत भ्रमणमा पैँचो तिर्न जाने तयारी. –

sawagat-bidhiya
काठमाडौं कात्तीक २०  नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी सुरु भएको छ । नेपालको तीन दिने राजकीय भ्रमण सक्याएर भारतीय राष्ट्रपति प्रणव मुखर्जी हिजो साँझ स्वदेश फिर्ता भएका छन ।

त्यसको लगत्तै काठमाडौं र दिल्लीले मंसिरमा राष्ट्रपति भण्डारीको भारत भ्रमण आयोजना गर्ने तयारी थालेका हुन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको तयारी अगाडि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारी भन्छन्, ‘कुन दिन भन्ने निश्चित भइसकेको छैन तर मंसिरमा राष्ट्रपति भण्डारीको भारत भ्रमण आयोजना गर्ने गरी तयारी अगाडि बढाउन मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।’ परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले मंगलबार मात्र भारतीय राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले राष्ट्रपति भण्डारीको भारत भ्रमणको आधार तय गर्ने बताएका थिए ।
भारत सरकारले राष्ट्रपति भण्डारीलाई यसअघि नै भारत भ्रमणको निमन्त्रणा दिएको थियो ।

राष्ट्रपति मुखर्जीले बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भएको औपचारिक भेटवार्तामा पनि भारत भ्रमणमा आउन पुनः निमन्त्रणा दिएका थिए । केपी ओली प्रधानमन्त्री रहेकै बेला करिब छ महिनाअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण तय भए पनि अन्तिम समयमा रोकिएको थियो । ओलीले आफ्नो सरकार ढाल्न दिल्लीले चलखेल गरेको आरोपमा राष्ट्रपतिको भ्रमण रद्द गर्नुका साथै दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएका थिए ।

राष्ट्रपति भण्डारीले त्यसबेला तय भइसकेको भ्रमण रद्द गर्दा सिर्जना भएको असमझदारी हटाउने प्रयासमा भारतीय राष्ट्रपति मुखर्जीलाई विमानस्थलमा आफैँले स्वागत र बिदाई गर्नेदेखि एक दिन बिदा दिन समेत प्रस्ताव गरेको थियो ।

यसैबीच राजनीतिक विश्लेषकहरूले भारतीय राष्ट्रपति नेपाल भ्रमण सक्याएर स्वदेश फिर्ता भएकै दिन एकाएक मन्त्रिपरिषद्को बैठक बसी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण गर्ने निर्णयलाई पालाको पैँचो तिर्न गरिएको निर्णयको रूपमा विश्लेषण गर्न थालेका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया