देउवाका चार र पौडेलका एक नेताले यसरी गर्दैछन् भाँडभैलो, हस्ताक्षर गर्नै छाडे

deuwa-ramchandra-mitiing

काठमाडौं, २१ कात्तिक । कांग्रेसका पाँच नेताले मर्यादाक्रम नमिलेको भन्दै १३औँ महाधिवेशनपछि बसेका चारवटै केन्द्रीय कार्यसमितिको बैठकमा हस्ताक्षर गरेका छैनन् ।

आफूहरूको ‘सिनियारिटी’अनुसार मर्यादाक्रम नमिलेको भन्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, डा रामशरण महत र केन्द्रीय सदस्य रमेश लेखकले उपस्थितिपुस्तिकामा हस्ताक्षर नगरेका हुन् । लेखक पहिलोपटक केन्द्रीय सदस्य बनेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

चार देउवा पक्षका, एक पौडेल पक्षका

पाँच नेतामध्ये १३औँ महाधिवेशनबाट श्रेष्ठ, गुरुङ, महत र लेखक खुला २५ बाट निर्वाचित भएका थिए । महामन्त्रीमा पराजित भएपछि केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो । पाँच नेतामध्ये चारजना सभापति देउवा पक्ष र महत एक मात्र पौडेल पक्षीय नेता हुन् । चैतको पहिलो साता बसेको केन्द्रीय समिति बैठकअघि बनाइएको मर्यादाक्रममा सिनियर नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

सिंह र सिटौलालाई अगाडि

राखिएकोमा श्रेष्ठको आपत्ति मर्यादाक्रममा श्रेष्ठलाई सातौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई राखिएकोमा उनले असन्तुष्टि जनाएका हुन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै नेता श्रेष्ठ केन्द्रीय समिति बैठकमा पछाडि बस्दै आएको बताउँछन् । साथै, केन्द्रीय समितिमा पदीय मर्यादा नमिलाएपछि संसद् बैठकमा पनि आफू अगाडि नबसी पछाडि बस्न थालेको उनले बताए । यसअघि पार्टीमा महाधिवेशन भएपछि पदीय मर्यादाक्रमबारे ठूलो झमेला र लफडा नभएको श्रेष्ठ बताउँछन् ।

आफूलाई उपेक्षा गरिएको गुरुङको गुनासो

नेता कुलबहादुर गुरुङ आफूलाई उपेक्षा गरिएको बताउँछन् । महामन्त्री भइसकेका पुराना नेता गुरुङलाई मर्यादाक्रममा नवौँ नम्बरमा राखिएको छ । आफूभन्दा अघि निधि र सिटौलालाई राखिएकोमा उनको असन्तुष्टि छ । १३औँ नम्बरमा रहेका डा. रामशरण महत र १४औँ नम्बरमा रहेका अर्जुननरसिंह केसी पनि असन्तुष्ट छन् । केसीले मर्यादाक्रम वैज्ञानिक नभएको बताए पनि आफ्नो असन्तुष्टि के हो भन्नेबारे खुलाउन चाहेनन् । अर्का नेता लेखक अहिले केही नबोल्ने भन्दै पन्छिए । उनलाई मर्यादाक्रममा ६७औँ स्थानमा राखिएको छ । आफूभन्दा जुनियर नेता अघि रहे पनि आफूलाई निकै पछाडि राखिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । डा. महतले हालै बसेको केन्द्रीय समिति बैठकमा मर्यादाक्रम नमिलेको भन्दै असन्तुष्टि जनाएका थिए । ८५ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा अहिले ७५ सदस्य छन् । १० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ ।

चर्चित नेता को कुन मर्यादाक्रममा ?

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको विषयमा कुनै विवाद छैन । तर, त्यसपछि को रहने भन्ने विषयमा विवाद छ । अहिलेको क्रममा पूर्वउपसभापति प्रकाशमान सिंह पाचौँ नम्बरमा छन् । पछिल्लो महाधिवेशनमा सभापतिमा पराजित कृष्ण सिटौला छैटौँ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ सातौँ र देउवाका विश्वासपात्र मानिने पूर्वमहामन्त्री विमलेन्द्र निधि आठौँ नम्बरमा छन् । पूर्वमहामन्त्री कुलबहादुर गुरुङ नवौँ, उपसभापतिको दाबी गरिरहेका खुमबहादुर खड्का १०औँ, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव ११औँ र पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का १२औँ नम्बरमा छन् । मर्यादाक्रमप्रति असन्तुष्टि जनाउने पूर्वसहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी क्रमशः १३ र १४औँ नम्बरमा छन् । महाधिवेशनमा महामन्त्री पदमा पराजित चर्चित युवा नेता गगन थापा ४८औँ नम्बरमा छन् । महाधिवेशनमा लोकप्रिय मत ल्याएका युवा नेता प्रदीप पौडेल ५७औँ र रमेश लेखक पुछारबाट पाचौँ नम्बर(६७)मा छन् । त्यस्तै, शेखर कोइराला ३२औँ र विश्वप्रकाश शर्मा ६५औँ नम्बरमा छन् ।

nepali-congress

nepali-congress-anepali-congress-b

 

 

यसमा तपाईको प्रतिक्रिया