कश्मीरमा मारिएका विमलको शव नआउँदा परिवार झन् आक्रान्त, अन्तिम संस्कार रोकियो

इटहरी, २१ कात्तिक – धरानका बलबहादुर तामाङ र नरमाया तामाङ कश्मिरमा मारिएका आफ्ना छोराको शोकमा डुबेका छन् । बौद्ध संस्कार मान्ने यो परिवारले छोराको मृत्युको छैटौं दिनसम्म पनि मृतक छोराको अनुहार त के अस्तु समेत पाएको छैन ।

bimal-tamang
विमल तामाङ

‘शिकारीले मारेको चरा जस्तो टिपेर ल्याउने अवस्था छैन रे’, पिता बल बहादुर तामाङ भन्दैथिए, ‘त्यहाँ त दुईतर्फी गोलाबारी चल्दैछ रे । आर्मीलाई पनि समस्या छ भन्ने सुन्दैछु ।’ धरान—११ मंगलबारे चौकबाट थोरै भित्र रहेको घरमा रहेका बलबहादुरलाई यत्ति बोल्न पनि निक्कै सकस भयो ।
भारी अनुहार लाएर उनले आँसु थाम्दै भने, ‘मर्न त मेरो छोरा मरेको छैन । शरीर मात्रै कश्मिरमा ढलेको हो । आत्मा त यही घर वरिपरि डुल्दै होला ।’

बौद्ध धर्मदर्शन जानेका बलबहादुर आफ्नो छोराको आत्मा मरेको छैन भनेर जत्ति सहज भन्न खोजे उत्तिकै असहजता उनको मलिन अनुहार र धमिलो आँखामा देखिन्थ्यो । आमा नरमाया त कुराकानी गर्न सक्ने अवस्थामा थिइनन् ।

विमलका दाजु किशोर तामाङ र अन्य पाँचजना काका बडाबाका छोराहरू पनि भारतीय गोर्खा फौजमै थिए । सबै दाजुभाइहरूमा विमलै थिए सबैभन्दा ढिलो भारतीय गोर्खा राइफल्सको सदस्य । तर विमलै भए पहिलो युद्धमा हराउने तामाङ परिवारका सदस्य ।

bimal-tamang-parents
विमल तामाङका आमाबुवा

सन् १९९९ को कार्गिल युद्धपछि मारिने पहिलो भारतीय गोर्खा सैनिक पनि हुन पुगे विमल तामाङ । भारतीय सेनाले ‘वीरगति’ प्राप्त गरेको भनिएका विमलको अस्तु पर्खिरहेका तामाङ परिवार यी सबै कुराको रेकर्ड सम्झन भन्दा विमलकै यादमा छटपटाइरहेको छ । न छोराको अनुहार देख्नपायो यो परिवारले, न त ‘ध्याटा ङो’ भनिने बौद्ध धर्मको संस्कार अनुसार सद्गत नै गर्नसक्यो ।

केवल सक्यो त छोराको यादमा पिरोलिन । केवल सक्यो छोराको तस्वीर हेर्न । तर अहिले छोराको तस्वीरमा माला झुण्डेको छ । अर्थात् अब यो तस्वीरमा देखिने तन्नेरी विमलको शरीर यो घरमा आउनेछैन । अब सम्झना मात्रै त छ ।

मृतकको सद्गतका लागि शरीर नपाएपछि अस्तु पर्खिंदै परिवार

विमलको मृत शरीर नआउँदा दाहसंस्कार समेत अपुरो भएको छ । अझ, अस्तुसमेत मृतक बितेकोे छैटौं दिनसम्म पनि आएको छैन । बौद्ध संस्कार अनुसार मृतकको शरीर बौद्ध दाहसंस्कारस्थलमा जलाउनुपर्छ । जलाएको शरीरबाट अस्तु ज्वाईंचेलाहरूबाट घरसम्म ल्याउनुपर्छ ।

घरमा ल्याएको अस्तु पनि सुरक्षित स्थानमा कसैले नछुनेगरी राख्नुपर्छ । अनि ल्याएर सफा ठाउँमा सुरक्षित राखिएको अस्तुलाई मृतकले मन पराएका खानेकुरा, फलफूल र तरकारीहरू राखिदिनुपर्छ ।

विमलको शरीरलाई न त संस्कार अनुसार धरान—१९ तीनकुने स्थित बौद्ध दाहसंस्कारस्थलमै जलाउन पाइयो न त उनको अस्तु नै पवित्र स्थानमा ज्वाईंचेलाबाट ल्याएर राख्न पाइयो । मात्रै अस्तुको पर्खाईमा छ यो परिवार ।

tamang-last-rites

अहिलेलाई भने विमलको फोटो राखेर त्यही फोटोमा विमललाई मनपर्ने खानाहरू राखिएका छन् । दाल, भात, तरकारी, घ्यु, डल्ले खोर्सानी, दही, मह, केरा, आँप, स्याउ, सुन्तला र बिस्कुटहरू विमललाई मन पर्थ्यो । र आज माला लगाएका विमलको तस्वीर सामुन्ने यी खानेकुराहरू राखिएका छन् ।

कतार, साउदी अरेबिया र मलेसियामा मर्नेका शवहरू बाकसमा धेरैपछि भएपनि आउँछन् । यता, कश्मिर सीमाको सुरक्षामा लड्दा लड्दै ‘वीरगति’ पाएका छोराको लाश नपाउँदाको पीडाबारे बुवा बलबहादुर तामाङ भन्छन्, ‘युद्धमा लडेर मर्दा सेनाले नै सलामी दिँदै सद्गत गर्ने चलनले यस्तो नभएको रे । मैले त जसरी भए नि चाहियो भनें । शरीर चाहियो भन्दा आर्मी त जान नसकेको ठाउँमा सर्वसाधारण मान्छे जान झन् समस्या छ भने । गोलाबारुद चलेर लास उठाउन त गाह्रो छ भन्छन् ।’

‘विमललाई वीर चक्र वा परमवीर चक्र प्रदान गरियोस्’

बुवा बलबहादुरको अनुभवमा विमल प्रस्ट स्वभावका थिए । चाहिँदो कुरा मात्रै बोल्ने र राम्रो काम मात्रै गर्ने उनको आदत थियो । खाइलाग्दा र मेहनती पनि थिए विमल । यिनै कारणहरूले गर्दा विमल ११ कक्षा पढ्दापढ्दैको पहिलो प्रयासमै धरानस्थित भारतीय गोर्खाको पीपीओ (पेन्सन वितरण कार्यालय) बाट भारतीय गोर्खा फौजमा भर्ना भएका थिए । २१ जिल्लाका १५ हजार प्रत्यासीमध्ये १५० जनाको लिस्टमा परेका थिए विमल ।

२०७० सालको असार १३ गते भारतीय सेनामा छनौट भएर विमल 7/11 GR  को ९४२९१२७ सिपाही नम्बर पाएर सबै तालिम सकेर फिल्डमा खटेको पनि एक वर्ष पूरा भएको थियो । कश्मिरमा पोस्टिङ परेपछि नै बुवा बलबहादुरलाई तनाव भएको थियो ।

कश्मीरमा भारत र पाकिस्तानबीचमा गोलीबारुद चल्न थालेको पछिल्लो महिनाको खबरले त उनमा बेचैनी नै आएको थियो । उनी भारतीय च्यानल ‘आजतक’ हेरिरहन्थे । कतिसम्म भने कहिलेकाहीँ त लाइन हुँदा राति एक बजेसम्म उनका आँखा टिभी स्क्रीनमा कुदिरहेका हुन्थे । समय—समयमा छोराले गर्ने फोन कलको कारण भने उनमा ढुक्क हुन्थ्यो ।

bimal-tamang

यो तिहारको लक्ष्मीपूजाको अघिल्लो दिनसम्म पनि विमल आफ्ना आमा—बुबासँग फोनमा निकैबेर बोलेका थिए । गत सोमवार पनि विमलको नम्बरबाट फोन आएको थियो तर आवाज विमलको थिएन । विमलका बुबाको मनमा चिसो पस्यो । अन्ततः उनले जे सुन्न चाहँदैनथिए, त्यही खबर आयो । अर्थात् बिहान ५ बजेको कश्मीरको भारत–पाकिस्तान सीमाको फायरिङमा विमलको ज्यान गयो । र केही अरू घाइते भए । कश्मीरको सिमाना रक्षा गर्न गस्ती गर्दैगर्दा मरेका विमलको वियोगमा पीडित परिवार अब विमलको बहादुरीको सम्मान होला कि नहोला भन्नेमा पनि चिन्तित बनेको छ ।

‘मेरो छोरा मरेको हैन वीरगति प्राप्त गरेको त सेनाले नै भनेको छ,’ बाबु बलबहादुर तामाङ भन्छन्, ‘सीमा रक्षा गर्दागर्दै गरेको मेरो छोरालाई भारत सरकारले वीर चक्र र परमवीर चत्र के हुन्छ प्रदान गरोस् ।’ धरानको पेन्सन वितरण कार्यालयमा पनि आफ्नो छोराको शालिक बनेको हेर्न चाहेका छन् बलबहादुरले । आफ्नो छोराको बहादुरी र त्याग हेरेर अरू गोर्खाहरूले मन दह्रो बनाऊन् भन्ने बलबहादुर चाहन्छन् ।

‘नेपालमै जागिर भएको भए छोरो भारतको सिमानामा मर्ने थिएन’

आफ्नो छोराको मृत्युले बाबु बलबहादुरलाई पोलेको घाउको दर्दमा बेलाबेला छोरा सम्झेर शोकमग्न परिवारलाई भेट्न आउने आफन्तहरूको जमातले शान्त पार्छ । भारतीय सेनाका परिवारहरू आउँदा पनि उनलाई हल्का ढाडस मिल्छ ।

तर नेपाली नागरिकता बोक्ने आफ्नो छोराले भारतको सीमा रक्षा गर्दागर्दै मरेको सम्झँदा भने उनलाई पीडा हुन्छ । नेपाली नागरिक भएपनि भारतीय गोर्खामा जागिर गरेपछि आफ्नो छोरा शुद्ध नेपालीभन्दा नेपालमा जन्मेको गोर्खाली जस्तो मात्रै भएको बलबहादुरको भनाई छ ।

नेपालमा राम्रो जागिर नपाउनु र उत्पादनमूलक कामहरू नहुनु नै युवा पलायन हुनुका कारण हुन् भन्ने बुझेका बलबहादुर पेट पाल्न र परिवार पाल्ने पैसा आउने जागिर भेट्ने ग्यारेन्टी भएको भए आफ्नो छोराको पढाई ११ कक्षामै नटुंगिने थियो भन्छन् । नेपालमै युवाहरूलाई पढाई र क्षमता अनुसारको काम र दाम दिएको भए आफ्नो छोरो बिहे नगरी कलिलो अवस्थामै कश्मिरमा नमर्ने समेत बलबहादुरको भनाई छ ।

bimal-tamang-parents

युवा पलायन, स्वदेशको बेरोजगारी र आफ्नो छोरा बितेको शोकबारे बोल्दा झन्डै भक्कानिएका विमलका बुवा भन्छन्, ‘नेपालका राम्रा राम्रा युवकहरू बेलायत र भारतले बजारमा खसीबोका छानेजस्तो पटक—पटक छानेर लान्छ र यहाँ चाहिँ उभ्रिएकाहरू मात्रै हुन्छन् ।’

यसो भनिरहँदा निकै भावुक देखिएका बलबहादुरले थपे, ‘नेपालमै जागिर भएको भए छोरो पनि भारतको सिमानामा मर्ने थिएन ।’

यसमा तपाईको प्रतिक्रिया