अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने कुनै निर्णय भएको छैन– प्रवक्ता, नेपाल सरकार

surendra-karki

काठमाडौं, कात्तिक २१ । अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने विषयमा आएको समाचारमा कुनै सत्यता नभएको सरकारले स्पष्ट पारेको छ ।

मधेसी मोर्चाका मागहरु सम्बोधन गर्न सरकारले दर्ता गर्न लागेको संशोधन प्रस्तावमा नागरिकताका विषयमा यसप्रकारको कुनै प्रावधान नभएको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले एभरेष्टदैनिकडटकमलाई बताए । “यससम्बन्धी कुनै निर्णय भएको छैन । समाचारमा सार्वजनिक भएको विषय गलत हो । अंगीकृत नागरिकलाई राष्ट्राध्यक्ष बनाउने विषयमा कुनै निर्णय भएको छैन र हुँदैन पनि” उनले भने ।

मन्त्री कार्कीका अनुसार संविधान संसोधन गर्दा नागरिकताको विषयलाई अध्ययन गरेर विज्ञहरुको सुझावलाई आधार मानेर मात्रै त्यस विषयमा निर्णय हुनेछ ।

अन्तरिम संविधानमा व्यबस्था भएको नागरिकताको प्रश्नलाई अनावश्यक रुपमा हल्ला चलाउन आवश्यक नरहेको उनले बताए ।

मधेसी समुदायका नेपालीहरुलाई नागरिक मान्ने सवालमा कोही पनि द्विविधामा पर्न नहुने मन्त्री कार्कीले बताए । मधेसी जनताहरु नेपालमै बसेर काम गरिरहेका छन, उनीहरु भागेर भारत पुगेका छैनन्, जसरी पहाडी नेपालमा बसेका छन, आफ्नै नेपालीमाथि नागरिकतामा विभेद गर्नु हुँदैन भन्ने हामी प्रमुख पार्टीहरुमा एक चरण छलफल भइरहेको छ, हामी सबैमा सहमति नभइ कुनै निर्णय गरिने छैन–मन्त्री कार्कीले  भने

सरकारले सबैपक्षसँग छलफल गरेर सदनमा संशोधन प्रस्ताव लैजाने कुरा प्रधानमन्त्रीले यसअघि नै सार्वजनिकरुपमा बताइसकेको उल्लेख गर्दै कार्कीले संविधान संशोधनका विषयमा सबै पक्षबीच सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

यसमा तपाईको प्रतिक्रिया