मधेसवासी नेता भन्छन्– ‘भारतीय व्यापारी अम्बानीहरुलाई राष्ट्रपति बनाउन हामीलाई रहर छैन’

madhesi-neta
२१ कात्तिक । अंगीकृत नागरिकता लिएका व्यक्तिहरुले नेपालमा १० वर्ष स्थायी बसोबास गरेपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन पाउने प्रावधानसहित सरकारले संविधान संशोधनको मस्यौदा तयार पारेको चर्चाबारे सर्वत्र आलोचना सुरु भएको छ ।

अंगीकृत नागरिकता लिएका व्यक्तिहरु राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन पाउने प्रावधानको मधेसबाटै विरोध भएएको छ । ‘अंगीकृत नागरिकको अर्थ राज्यले अंगिकार गरेको नागरिक हो,’ पूर्व सांसद् शान्ता चौधरीले भनेकी छिन्, ‘अंगीकृत नागरिकलाई देशको उच्च संबैधानिक पदमा पुर्याउनेगरी संविधान संशोधन गर्नु भनेको नेपाललाई फिजीकरण गर्ने भारतीय प्रयासलाई सफल बनाउनु हो ।’

उनले नेपालमै जन्मेका नागरिक राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन सक्ने क्षमताका भएको पनि तर्क गरेकी छिन् । ‘के यो देशमा जन्मेको ब्यक्तिले देशको नेतृत्व गर्न सक्दैन भन्न खोजेको हो ?,’ उनले प्रश्न गरेकी छिन्, ‘विदेशी इसारामा देशलाई डुबाउन खोज्नेहरु बिरुद्ध खवरदारी गरौं ।’

सांसद् वैजनाथ चौधरी थारुले पनि अंगीकृत नागरिकता लिएका व्यक्तिहरुले राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा निर्वाचित हुन पाउने प्रावधानको विरोध गरेका छन् । ‘पार्टीले यो कुरा मानिएन भने संविधान नै विघटन हुन्छ भनेर ल्याप्चे लगाउँछ भने हामीले विरोधको झण्डा उठाएर कुद्ने कुरा भएन,’ एमालेका तर्फबाट सांसद् रहेका थारुले भने, ‘यो नेपालमा मात्र होइन आफूलाई लोकतन्त्रको जननी भन्ने भारत मात्र होइन अमेरिका, बेलायत जस्ता देशमा पनि अंगीकृत नागरिकता लिएकालाई राष्ट्रपति, प्रधानमन्त्रीसहितका महत्वपूर्ण पदमा लैजाने प्रावधान छैन ।’

उनले नेपालमा मात्र यस्तो प्रावधान ल्याउन खोज्नु भारतलाई रिजाउन बाहेक केही नभएको तर्क गरे । ‘यो सबै भारतलाई रिजाउनका लागि मात्र हो,’ उनले भने, ‘ठूला–ठूला भारतीय व्यापारिका छोरीहरु नेपालको अंगीकृत बन्छन्, उनीहरुसँग पैसा हुन्छ, उनीहरु नै चुनाव लड्छन् र जित्छन् ।’ उनले त्यस्तो प्रावधानले भविष्यमा भारतीय व्यापारी अम्बानीका सन्तानहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री बन्ने र नेपाली नागरिक हेरेको हेरेकै हुने दाबी गरे ।

यसमा तपाईको प्रतिक्रिया