पेरिसडाँडाको माओबादी केन्द्रको हेडक्वार्टर एकाएक कस्ले लियो कब्जामा? हेडक्वार्टर बचाउन प्रचण्ड ले पठाए तीन ट्रक सुरक्षाकर्मी!

mawabadi-perisdada

काठमाडौं, २२ कात्तिक । सत्तारुढ नेकपा माओवादी केन्द्रको पेरिसडाँडा कोटेश्वरको हेडक्वार्टर कब्जा भएको छ ।

‘अरुका लागि लड्यौं पटक-पटक, आफ्नो स्वाभिमान, पहिचान र अधिकारका निम्ति लडौं अन्तिम पटक’ भन्ने नारासहित गाउँ गाउँबाट तीन सयको संख्यामा आएका बहिर्गमित पूर्व लडाकुहरुले सोमबार माओवादीको केन्द्रिय कार्यालय नियन्त्रणमा लिएका हुन् ।

विभिन्न मागहरु राख्दै उनीहरुले पार्टी कार्यालयमा तालबन्दी गरी कसैलाई भित्र छिर्न दिएका छैनन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष रमेश बसेलका अनुसार राजधानीमा सम्पन्न पूर्व लडाकुको भेलाले आफ्ना माग पूरा गराउन हेडक्वार्टर नियन्त्रणमा लिने निर्णयलगत्तै सोमबार दिउँसोदेखि कार्यालय नियन्त्रणमा लिइएको हो ।

आफूहरुको माग पूरा नहुँदा सम्म कार्यालय नछाड्ने पूर्व लडाकुको अडान छ ।

पार्टी हेडक्वार्टर नै कब्जा भएपछि सरकारको नेतृत्व गरिरहेका सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको निर्देशनमा पेरिसडाँडामा सशस्त्र र नेपाल प्रहरीका ३ ट्रक प्रहरी पुगेका छन् । अहिले दुबै पक्षबीच वार्ता चलिरहेको छ ।

यस्ता छन् पूर्व लडाकूका माग

बहिर्गमित लडाकुले आफूहरुलाई सरकारले लगाएको अयोग्य पदवाली फिर्ता गरेर गणतन्त्र योद्धा घोषणा गर्नुपर्ने, स्वेच्छिक अवकाश रोजेका पूर्व लडाकु सो सरह आर्थिक प्याकेज वा दीर्घकालीन व्यवस्थापन हुनुपर्ने, झुटा मुद्दा लगाएर जेलमा राखेका बहिर्ग्मित लडाकुलाई विना शर्त रिहा गर्नुपर्ने, घाइते अपांगलाई निशुल्क उपचार तथा आजीवन भत्ताको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् । यी माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष बसेलले बताए ।

संयुक्त राष्ट्र संघीय मिसन अनमिनको रोहबरमा २०६६ साल माघ महिनामा ४ हजार ९ जनाको संख्यामा रहेका बाल सैनिकलाई अयोग्यको घोषणा गरिएको थियो ।

 

यसमा तपाईको प्रतिक्रिया