अख्तियारले खोल्यो मुख: कुनै नेतामाथि पनि छानबिन भएकै छैन, लोकमानले त्रास फैलाएर बार्गेनिंग गर्न खोजेको ठहर!

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका कारण महाअभियोग लगाइएको प्रचार गराएप्छि आयोगले पहिलोपटक मुख खोल्दै नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो ।ciaa-akhtiyar.jpg

अख्तियारले लोकमान पक्षधरले लगाएको आरोप कपोल्कल्पित हल्ला मात्र भएको पनि बताएको छ । महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त कार्की निकटस्थहरूले दलका नेतामाथि छानबिन थालेकै कारण उनीविरुद्ध महाअभियोग लगाइएको बताइरहेका बेला अख्तियार आफंैले यसलाई कपोल्कल्पित हल्ला भनेको हो । ‘हामी लामो समयदेखि यही बसेर हेरिरहेका छौं, अहिलेसम्म भ्रष्टाचारको विषयमा कुनै पनि दलका नेतामाथि बोलाएर या सूक्ष्म रूपमा अनुसन्धान गरिएकै छैन,’ अख्तियारका एक आयुक्तले राजधानीसँग भने । ती आयुक्तका अनुसार भ्रष्टाचारजन्य कसुरमाथि छानबिन, अनुसन्धान तथा अभियोजन गर्ने संवैधानिक अंगकै बदनाम गर्ने गरी हचुवाको भरमा अनुसन्धानको हल्ला चलाइएपछि अख्तियारले सार्वजनिक रूपमै नेतामाथिको अनुसन्धान गरिएको हल्ला निराधार भएको सार्वजनिक गरिएको हो ।

अख्तियारले सोमबार विज्ञप्तिमार्फत सार्वजनिक पद धारण गरेका केही व्यक्तिहरूलाई लक्षित गरी अनुसन्धान भइरहेको भन्ने विषयमा सत्यता नभएको प्रस्टसमेत पारेको छ । ‘अख्तियार जस्तो संवैधानिक अंगले व्यक्तिको नाम किटेर लाञ्छाना लगाउने या होइन भन्ने कुरा हँुदैन, कुरो प्रस्ट बुझ्नुहोस्, दलका नेता त्यसमा पनि शीर्ष तहका नेतामाथि कुनै पनि खालको सोधखोजको प्रक्रियासमेत अख्तियारबाट भएको छैन, बाहिर गरिएको प्रचार ब्ल्याकमेलिङका लागि मात्रै हो,’ ती आयुक्तको भनाइ छ । उनका अनुसार महाअभियोगको विषयलाई अन्यत्र मोड्न र आफू जोगिन कार्कीले त्रास देखाउने योजनाका साथ दलका नेतामाथि अनुसन्धान थालिएको हल्ला चलाएका हुन् । ‘त्रास देखाएर ब्ल्याकमेलिङ गर्न खोजेका हो, यस्तो अथोरिटी कसैसँग छैन, त्यसैले, कार्कीको ब्ल्याकमेलिङ रोक्न आयोग नै बोल्नुपरेको हो,’ ती आयुक्तले भने ।

उनका अनुसार कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातसहित आयोगका सबै आयुक्तबीच परामर्शपछि लोकमानको अनावश्यक चलखेल रोक्न अख्तियारबाटै विज्ञप्ति जारी गर्ने निर्णय लिइएको हो । अख्तियारका अनुसार प्रमुख आयुक्त कार्कीमाथि संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव र भ्रष्टाचार अनुसन्धानसँग कुनै साइनो नभएकाले पनि अनुसन्धान थालेकाले महाअभियोग लगाइएको भन्ने विषय गलत र निराधार हल्ला मात्र हो । प्रमुख आयुक्त कार्कीको योग्यतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला १ सय ५७ जना सांसदले हस्ताक्षर गरी व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव गर्दा गरेपछि अहिले संसद्मा सो विषय विचाराधीन छ । कार्कीविरुद्ध महाअभियोग दर्ता भएलगत्तै महाअभियोग समिति गठन गरी समितिले उनीमाथि लगाइएको अभियोगबारे अध्ययन गरिरहेको छ ।

आफूविरुद्धको मुद्दामा अदालतले जारी गरेको आदेश बुझ्न अस्वीकार गरेको, खराब आचरण देखिएको, ब्ल्याकमेलिङ गरेको लगायतका अभियोगसहित कार्कीमाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ । महाअभियोगलगत्तै प्रमुख आयुक्तको हैसियतमा काम गर्न नपाउने भएपछि हाल बस्न्यातले कार्यवाहक प्रमुख आयुक्तको हैसियतमा काम गरिरहेका छन् । कार्यवाहकका रूपमा कार्यभार सम्हालेलगत्तै बस्न्यातले कार्कीमाथिको महाअभियोगका कारण अख्तियारको कामकारबाहीमा बाधा नपुग्ने भन्दै संसद्को निर्णय मान्य हुने बताइसकेका छन् । उनले कार्कीको पालामा हुने गरेको निरंकुश कार्यशैलीमा सुधार गर्दै अबदेखि आयोगको बैठक बसेर सामूहिक निर्णयका आधारमा मात्रै अघि बढ्ने निर्णय गराइसकेका छन् ।

महाअभियोग, योग्यतासम्बन्धी मुद्दा र म्याद तामेलीमा अवरोध गरेको विषयको एकसाथ सामना गरिरहेका कार्की भने यतिबेला निकटस्थ कानुन व्यवसायीसँग प्रतिरक्षा कसरी गर्ने भन्ने विषयमा छलफलमा छन् । उनले आफूनिकटलाई आर्थिक प्रभावमा पारेर नेतामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी भएपछि महाअभियोग लगाइएको प्रचार गराउन थालेका छन् । कार्कीले अभियोगको सामना गर्ने रणनीति बनाई जनताको ध्यान अन्यत्र मोड्न लागेपछि अख्तियारले विज्ञप्ति नै जारी गरेर अख्तियारले दलका नेता र उच्च पदस्थ व्यक्तिमाथि कार्की नेतृत्वको आयोगले अनुसन्धान गरिरहेको भन्ने समाचारमा सत्यता नभएको बताएको हो । उसले भ्रष्टाचार अनुसन्धान पूरा नभएसम्म गोप्य हुने भन्दै अनुसन्धान पूरा भएका अभियोगमा अख्तियारले प्रवक्तामार्फत जानकारी गराउने स्मरण पनि गराएको छ । आयोगको यो भनाइसँगै कार्कीको षड्यन्त्र असफल बनेको छ । केही दिनदेखि कार्कीनिकटले महाअभियोग लगाउन नेतृत्व गर्ने एमाले र माओवादी केन्द्रका नेताविरुद्ध अकूत सम्पत्तिमा मुद्दा दायर हुने भएपछि महाअभियोग लगाइएको भन्दै प्रचार गर्दै आएका थिए । सोही आधारमा अख्तियारले कुनै पनि नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

Loading...

यसमा तपाईको प्रतिक्रिया