नेपाललाई भुटानीकरण गर्ने योजना सफल हुन दिँदैनौं- एमालेका सचिव योगेश भट्टराई

 yogesh_bhattari-650x420-1
नेकपा एमालेले अंगिकृतलाई दश वर्षभित्र राष्ट्रको विशिष्ठ पदमा पुग्ने गरी सरकारले गर्न लागेको संविधान संशोधनको विपक्षमा आफूलाई उभ्याउने भएको छ ।

नेकपा एमालेका सचिवले नेपाललाई भुटानीकरणको बाटोमा लैजाने सरकारको यो खेल एमालेले कुनै हालतमा सफल हुन नदिने बताए ।

‘अहिलेको जमानामा सिक्किमीकरण गर्न कुनै पनि देशले सक्दैन । तर भुटानीकरणतर्फ लैजान भने सम्भव छ’, सचिव भट्टराईले भने, ‘नेपालमा अहिले जनसंख्यामा राजनीति गर्न खोजिएको हो । नेपाललाई दीर्घकालिन हिसामा कोलोनी बनाउने यो खेल सफल हुँदैन ।’

भारत आफैँले सात वर्षसम्म स्थायी बसोबास गरेपछि मात्रै अंगिकृत नागरिकता दिने गरेको पस्रङग निकाल्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता भट्टराई यो प्रस्तावलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा ल्याउन पनि हिम्मत गर्न नसक्ने जिकिर गरे ।

‘संविधानमा भारतको ‘इन्ट्रेस्ट’ सीमांकनमा होइन, नागरिकतामै हो । नेपाललाई आजीवन गृहयुद्धमा फसाइरहन यो खेल खेलिएको हो’, भट्टराईले भने, ‘अंगिकृतलाई विशिष्ठ पदमा पुर्याएर यहाँका आदिबासीलाई अल्पमत पार्ने यो षड्यन्त्रलाई एमाले कदापि स्वीकार्दैन ।’

नेपाल सामरिक हिसाबले पनि विश्वका दुई ठूला जनसंख्याका बीच रहेकाले यदि अंगिकृतलाई विशिष्ठ पदमा पुर्याउने गरी संविधान संशोधन भएमा भुटानको भन्दा दयनिय हुने उनको तर्क थियो ।

‘भारतले भुटानको आर्थिक नीति, परराष्ट्र नीति देखि त्यहाँको प्राकृतिक स्रोतसाधन र सम्पदामा कब्जा गरेको छ’, उनले भने, ‘नेपालमा जनसंख्याको राजनीति सफल भएमा उसले यहाँको जलस्रोतदेखि अन्य प्राकृतिक सम्पदामाथि राजनीति गर्नेछ। त्यसैले यस्तो राष्ट्रघाती प्रस्ताव संसदमा लैजान प्रचण्डले आफैँले आँट गर्न सक्दैनन् ।’

भारतसँगको खुला सीमानाका कारण पनि यस्तो निर्णयले नेपाललाई सदाका लागि एउटा देशसँग परनिर्भर बनाउने उनको तर्क थियो ।

‘जनसंख्याका हिसाबले विश्वकै एउटा ठूलो देशसँग सबै सीमाना खुल्ला छ’, उनले भने, ‘अंगिकृतलाई १० वर्षपछि विशिष्ठ पदमा पुर्याउने निर्णयसहित संविधान संशोधन भएमा नेपालको सार्वभौमसत्ता देखाउनका लागि मात्रै बाँकी रहन्छ ।’

 

यसमा तपाईको प्रतिक्रिया