नेपाल भ्रमण सके लगत्तै भारतीय राष्ट्रपति मुखर्जीविरूद्ध यसकारण भयो अदालतमा मुद्दा दायर

एजेन्सी । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो किताबमा हिन्दुहरूको धार्मिक भावनामाथि आपत्तिजनक टिप्पणी गरेको भन्दै पटियाला हाउस अदालतमा सार्वजनिक महत्वको मुद्दा दायर भएको छ। राष्ट्रपति मुखर्जीको किताब ‘टरबुलेट इयर्स १९८०–१९९६’ को केही अंश आपत्तिजनक भएको भन्दै ती अंश हटाउन माग गर्दै मुद्दा दायर भएको हो।

मुद्दामा राष्ट्रपति मुखर्जीलाई प्रतिवादी बनाइएको छ। मुखर्जीको किताबमा रामजन्मभूमि र बाबरी मस्जिदको सम्बन्धमा गरिएको टिप्पणीमा आपत्ति जनाइएको छ। किताबमा केही तथ्य गलत भएको र हिन्दुहरूको धार्मिक भावनामाथि ठेस पुग्ने भएका कारण आपत्तिजनक कुरालाई हटाएर सार्वजनिक सूचना जारी गर्न अनुरोध गरिएको छ। यस्तै, किताबमा भएको आपत्तिजनक अंश नहटाएसम्म बिक्रि बितरणमा रोक लगाउन पनि अनुरोध गरिएको छ। मुद्दा लखनउ र फैजाबादमा बसोबास गर्ने चार व्यक्तिले सोमबार वकिल हरिशंकर जैन र विष्णुशंकर जैनमार्फत दायर गरेका थिए। वकिल विष्णुका अनुसार सोमबार दिउँसो पटियाला हाउस अदालतमा राष्ट्रपति मुखर्जीविरूद्ध ‘सिविल सुट’ दायर गरिएको हो। मुद्दाको सुनवाई मंगलबार हुन सक्ने बताइएको छ। मुद्दा राष्ट्रपति मुखर्जीविरूद्ध मात्र नभई किताबको प्रकाशक रुपा पब्लिकेशनविरूद्ध पनि दायर छ। मुखर्जीको किताबको पृष्ठ नम्बर १२८–१२९ मा पूर्व प्रधानमन्त्री राजीव गान्धीको गलत निर्णयको उल्लेख छ। जसमा भनिएको छ, १ फरवरी १९८६ मा राम जन्मभूमि मन्दिरको ढोका खोल्नु राजीव गान्धीको गलत निर्णय थियो। मानिसहरू अनुभव गर्ने गर्छन, त्यतिबेलाको यो दूर्घटनालाई रोक्न सकिन्थ्यो।

 मुद्दा दायरकर्ताका अनुसार किताबमा दिइएको यो अंश गलत छ। किनभने राम जन्मभूमिको ताल्चा फैजाबाद जिल्लाका न्यायाधीसको आदेशले खुलेको थियो। किताबमा लेखकले यो बताउन खोजेका छन्, मन्दिरको ताल्चा खोल्ने न्यायिक आदेश प्रधानमन्त्ती राजीव गान्धीले दिएका थिए, जुन ठूलो गल्ती थियो। किताबमा यो पनि बताउन खोजिएको छ कि, भारतको न्यायिक आदेश राजनैतिक र प्रशासनिक प्रभावमा हुने गर्छ। यो टिप्पणीले आम जनतामा न्यायपालिकाको छवी खराब हुने दावी गरिएको छ। यसले न्यायलयको मानहानी पनि गरेको बताइएको छ।

यस्तै, किताबको पृष्ठ नम्बर १५१ र १५५ मा लेखकले ६ डिसम्बर १९९२ को घटनाको विवरण दिने क्रममा विवादित ढाचालाई बाबरी मस्जिद भनेका छन्। किताबमा बिबिसीका रिपोर्टर मार्क टलीको ५ डिसेम्बर २००२ को रिपोर्टलाई आधार मानिएको छ। मुद्दा दायरकर्ताले लेखकले विदेशीको रिपोर्टलाई आधार मानेर हिन्दुहरू विरूद्ध टिप्पणी गरेको र बाबरी मस्जिदको पक्ष लिएको आरोप लगाएका छन्। मुखर्जीले राजनैतिक सोचका कारण ऐतिहासिक तथ्य र न्यायिक प्रक्रियाको सम्मान नगरि एकतर्फी रूपमा किताब लेखेको आरोप लगाइएको छ।

 

यसमा तपाईको प्रतिक्रिया