देश जनताको पक्षमा फेरी बोले ओली–‘भने लोकतन्त्रको पराजय र लोकमानको बिजय हुने गरी संसदले निर्णय गर्दैन

काठमाडौं,२३ कात्तिक –नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा लोकतन्त्रले हार्ने गरी र लोकमानले जित्ने गरी संसदले निर्णय नगर्ने बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाजको प्रतिनीधिमण्डलसँग सोमबार साँझ भएको भेटमा ओलीले यस्तो बताएका हुन् । ओली निवास बालकोटमा भएको उक्त भेटमा ओलीले शान्ति र लोकतन्त्रको पक्षमा समाजले अघि सारेको अवधारणा स्वागत योग्य भएको भन्दै संवैधानिक रिक्तता आउन नदिन २०७४ मा प्रतिनिधी सभाको निर्वाचन हुनैपर्ने कुरामा पनि जोड दिए ।

 यसैबीच समाजको प्रतिनीधिमण्डलले परराष्ट्रमन्त्री प्रकाशशरण महत र भूमि सुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेसँग पनि उनीहरुकै कार्यकक्ष सिंहदरबारमा भेटी विभिन्न विषयमा छलफल गरेको छ । परराष्ट्रमन्त्री संगको छलफलमा नेपालको राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको परराष्ट्र नीति मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको शास्वत मुल्यबाट निर्देशित हुनुपर्ने र यी मुल्यहरुको विश्वव्यापी संरक्षण र प्रवद्र्धनको लागि अन्तराष्ट्रिय मञ्चहरुमा नेपालको आवाज मुखरित गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

साथै भूमि सुधार तथा व्यवस्था मन्त्री सँगको छलफलमा, भूमिको पुर्ण सदुपयोग र वैज्ञानिक व्यवस्थापनको दृष्टिकोणसहित राष्ट्रिय भूमि नीति तर्जुमा हुनुपर्ने, कानुनसम्मत आर्जेको कसैको पनि सम्पत्ति राष्ट्रिय हितमा प्रयोग गर्न कानुनसम्मत ढंगले अधिग्रहण गरिएमा उचित मुआब्जा वा क्षतिपुर्ति दिनुपर्ने, भूमिको वैज्ञानिकिकरण र भूमि क्षमताको सदुपयोगको लागि विशेष नीति अवलम्वन गर्नुपर्ने, अभावबाट मुक्ति, भोक र अनिकालबाट मुक्ति जस्ता आधारभुत अधिकारको संरक्षणका लागि विशेष कार्ययोजना तर्जुमा गर्नुपर्ने र भूमिको उर्वराशक्ति घटाउने र वातावरण प्रतिकुल हुने सामग्रीहरुको प्रयोगमा पुर्नविचार र आवश्यकता अनुसार निषेधको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिइएको समाजले जनाएको छ ।

 

यसमा तपाईको प्रतिक्रिया