उपत्यका लोडसेडिङ मुक्त भएको समाचार झुटो, फेरि सुरु हुँदैछ लोडसेडिङ

lodseding-bati

 कात्तीक २३ आइतबार र सोमबार विद्युतको नयाँ समाचारले उपत्यकाका वासिन्दामा नयाँ आशाको सञ्चार जगायो । ‘अब उपत्यकामा कहिल्यै लोडसेडिङ हुने छैन’ सबै सञ्चार माध्यमको प्राथमिकतामा परेको यो समाचार वास्तविकतामा झुटो रहेको रहस्य खुलेको छ । तत्काललाई व्यवस्थापन गरिएपनि लामो समय त्यो सम्भव नहुने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । दसैं, तिहार र छठजस्ता पर्वमा औद्योगिक क्षेत्रमा कम माग हुँदा त्यसको विजुली र अरु अस्थायी रुपमा थपिएको विजुलीका कारण मात्रै अहिले लोडसेडिङ हटेको ती अधिकारीले बताए । सबै कारखाना पूर्ण रुपमा सञ्चालनमा आएपछि उपत्यका लोडसेडिङ गर्नुको विकल्प छैन ।  मंसिरको दोस्रो हप्तामाबाट दिनमा सात घण्टा लोडसेडिङ हुने स्रोतले जनाएको छ । ‘अब काठमाडौंमा कहिल्यै लोडसेडिङ हुन्न की जस्तो होवा फिजाइएको छ’ ती अधिकारीले नेपालपाटीसँग भने, ‘मंसिर महिनाभित्रै पहिलेकै अवस्थामा लोडसेडिङ सुरु हुनेछ त्यसकारण जे सन्देश गइरहेको छ त्यो गलत हो ।’ अहिले देशभर करिब ४५० मेगावाट बराबरको बिजुली आपूर्ति अभाव छ । उपत्यकाको सामान्य दैनिक माग ३५० मेगावाट रहेको प्राधिकरणको अध्यनले नै देखाएको छ । प्राधिकरणले अहिले भारतबाट करिब ३ सय मेगावाट बिजुली आयात गरेको छ भने ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ बाट प्रणालीमा २५ मेगावाट थपिएको छ । ती दुइटै थपिएको बिजुली कुनैपनि बेला रोकिनेसक्ने सम्भावना छ । कलकारखाना खुलेपछि घटेको बिजुलीको आपूर्ती कहाँबाट हुन्छ ? प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङले भने, ‘ल्याउने उपाय खोजिरहेका छौ ।’ उनले अहिलेकै अवस्थामा उपत्यका लोडसेडिमुक्त हुने नसक्ने कुरालाई भने स्वीकार गरे । ‘प्राधिकरणले उपत्यकामा कहिल्यै बिजुली नजाने भइसक्यो भने होइन तर लोडसेडिमुक्त बनाउने अभियानमा छौ भनेको हो’ उनले नेपालपाटीलाई भने । उपत्यकामा अपुग बिजुली आपूर्ती गर्ने मुख्य प्रसारण लाइन तथा सबस्टेसनहरूमा खिम्ती ढल्केबर, कुलेखानी दोस्रो सर्किट, हेटौंडा–भरतपुर २२० केभी, कोहलपुर–महेन्द्रनगर, चपली (काठमाडौं) सबस्टेसन, हेटौंडा–वीरगन्ज मुख्य हुन् ।  तर ती पूर्वाधार तयार भइसकेको छैनन । ती प्रशारण लाइन नबनेसम्म उपत्यकालाई पूर्ण लोडसेडिङ मुक्त बनाउन नसकिने सरोकारवालाले बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया