विदेशीको स्वार्थमा देशको सीमांकन फेरबदल गरे देशमा रगतको खोलो बग्ने छ भन्दै एमालेका नेताहरु ले दिए चेतावनी

काठमाडौं २३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश नम्बर ५ लाई विभाजन गर्न नदिने अडान दिएको छ । सरकारले सीमांकन हेरफेर गर्ने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने तयारी गरिरहेको बेला एमालेले प्रदेश नम्बर ५ विभाजन गरे स्थिति भयाबह हुने चेतावनी दिएको छ ।

bishnu-yamale

एमाले प्रदेश नम्बर ५ को मंगलबार बुटवलमा सम्पन्न बैठकले हाल कायम रहेको प्रदेश ५ बाट कुनै पनि जिल्लालाई तलमाथि गरिए आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रमुख एवं पार्टी उपमहासचिव बिष्णु पौडेलले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको केन्द्रीय सदस्य सूर्य थापाले बताए । बैठकमा पौडेलले प्रदेश नम्बर ५ का नेता, थारु तथा जनजातिले सीमांकन हेरफेर नचाहेको भन्दै जबर्जस्ती गर्न खोजिए रगतको खोलो बगाउन एमाले पंक्ति तयार रहने विशेष प्रस्ताव पेश गरेका थिए । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु झिकिएमा थारु र जनजातिले विद्रोह गर्ने एमाले केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

विदेशीको स्वार्थमा देशको सीमांकन चलाउन नपाइने नवलपरासीका सांसद समेत रहेका केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताए । बैठकको निर्णय सुनाउँदै उनले भने, प्रदेश ५ को अहिलेको सीमांकन चलाइयो भने ठूलो आन्दोलन हुनेछ, जसलाई राज्यले थेग्न सक्दैन । यसमा कांग्रेस र माओवादीका नेताहरु पनि सहमत छन् ।’

 

यसमा तपाईको प्रतिक्रिया