ओली हटायर माओ-कांग्रेस गठबन्धन सरकार बनेकोमा आक्रोशित चीनले मुख खोलेर सोध्यो यी ४ प्रश्न, के दिन सक्ला यो सरकारले उचित जवाफ?

काठमाडौं, २३ कात्तिक– पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘असन्तुलित’ छिमेक नीति लिएको आरोप लगाउँदै ढालेर गठित पुष्पकमल दाहाल नेतृत्वको सरकारका गतिविधिप्रति चीनले आपत्ती जनाएको छ । सरकार र सत्तारुढ दलका शीर्ष नेताका गतिविधिले नेपालले एक चीन नीति त्यागेको आशंका गर्दै चीनले खुलेर आपत्ती जनाएको हो ।

oli-china
शालीन कुटनीतिमा विश्वास गर्ने चीनले नेपाल सरकार र सत्तारुढ दलका शीर्ष नेताका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहेर नरहेको बारे नेपाल सरकारसँग धारणा मागेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयसँग पछिल्ला केही घटनाक्रमबारे धारणा मागेको स्रोतले वताएको छ । तय नै नभएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे सरकारले अहिले नै सार्वजनिक विदाको घोषणा गरिनुलाई चीनले गम्भीर रुपमा लिएको छ । ‘भ्रमण नै तय नभएको विषयमा सरकारले विदा दिने निर्णय गर्नुले चीनलाई अनावश्यक रुपमा विवादमा तानेर नेपाली जनमानसमा बदानम गर्ने मनसाय देखिएको छ’ सम्बद्ध स्रोतले भन्यो, ‘कुटनीतिमा यस्ता कुरालाई सामान्य रुपमा लिन सकिंदैन ।’

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणअघि सरकारले भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सार्वजनिक रुपमा भारत परस्त सरकारको छवि बनाउँदै आएको दाहाल सरकारले जनअसन्तुष्टि चर्किन नदिन भारत र चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्दा सार्वजनिक विदा दिने एकमुष्ट निर्णय गरेको थियो ।

चीनले नेपालभित्र ‘चीनविरोधी गतिविधि गर्न दिएको’ भन्दै त्यसमा असन्तुष्टिसमेत जनाएको छ । छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि गतिविधि हुन नदिने विदेश नीति र चीनलाई हेर्ने दृष्टिकोण नेपालको फेरिए नफेरिएमा स्पष्ट पार्न परराष्ट्रमार्फत आग्रह गरेको छ । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाका पालादेखि शान्ति तथा मैत्री सन्धी गरेका नेपाल चीनले एक अर्काको भूमि एक अर्काको विरुद्ध प्रयोग हुन नदिने र नेपालले एक चीन नीति लिंदै आएको थियो । तर पछिल्ला केही गतिविधि औंल्याउँदै नेपालले गर्दै आएको प्रतिबद्धतामाथि चीनले शंका गरेको छ ।

प्रमुख सत्तारुढ घटक कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा तिब्बती पृथकतावादी समुहका नेताहरुसँग मञ्च शेयर गरी सहभागि भएको प्रति पनि चीनले आपत्ती जनाएको छ । कात्तिक १९ गते देउवा भारत भ्रमणमा गएका थिए । चीन विरुद्ध पश्चिमाहरुले प्रयोग गरी तिब्बतको समानान्तर सरकारको प्रधानमन्त्री बनाएका लोब्साङ साङ्गेसँगै देउवाले इण्डिया फाउण्डेशनको कार्यक्रममा भाग लिएका थिए । सत्तारुढ दलका प्रमुख नेता देउवा नै स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागि हुनुलाई चीनले देउवा स्वतन्त्र तिब्बतको पक्षमा लागेको आशंका गरेको हो ।

यस्तै वर्तमान सरकारको सहयोगी राप्रपाका नेता सुनिलबहादुर थापा मार्फत नेपाल सरकारले नै एकचीन नीति बिरुद्ध गतिविधि गरेको आशंका गर्दै प्रश्न उठाएको छ । चीनको स्वशासित क्षेत्र ताइवानको अलग झण्डा राखेर कार्यक्रम गरेकोप्रति चीनले कुरा उठाएको हो ।

आइतबार बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा आयोजना गरिएको कार्यक्रममा ताइवानको झण्डा फहराइएको थियो । यसलार्ई चीनले आफ्नो राष्ट्रविरुद्धको गतिविधिका रुपमा बुझेको छ । चीनले ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन र नेपालले चीनको मान्यतामा समर्थन जनाउँदै आएको छ । तर नेपालले अँगाल्दै आएको एक चीन नीतिविपरीत ग्यालरीमा ताइवानको झन्डा राखेर कार्यक्रम भएपछि चीनले गम्भीर आपत्ति जनाएको हो । पहिलेदेखि नै भारत परस्त नेताका रुपमा चिनिदै आएका राप्रपा नेपालका नेता सूर्यबहादुर थापा तथा उनका पुत्र सुनिलबहादुर थापाकी पत्नी संगीता थापा अध्यक्ष रहेको संस्थाले गरेको कार्यक्रममा आइतबार ताइवानको झण्डा फहराइएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई स्थगित गराउन र पूर्ववर्ती ओली नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता अघि बढाउन नदिन उपप्रधानमन्त्री बिमलेन्द्र निधिले खेलेको मुख्य भूमिकाप्रति पनि चीन सशंकित बनेको हो । भारतीय नाकाबन्दी खेपेको नेपालले ओली सरकारको पालामा चीनसँग पारवहन, दुवै देशलाई जोड्ने सडक तथा रेल यातायात पूर्वाधार लगायत सम्झौता गरेको थियो । तर, उपप्रधानमन्त्री निधिकै कारण उक्त सम्झौताका प्रोटोकल बैठक दुई दुई पटक स्थगित भएको थियो । गत आइतबार तय भएको बैठक पनि स्थगित भएको थियो ।

चीनसँग ओली सरकारले गरेका सम्झौता अलपत्र पार्दै दाहाल नेतृत्वको सरकार भारत रिझाउनेतिरै केन्द्रित थियो । चीनका राष्ट्रपतिको भ्रमण स्थगित गराई त्यस अगाडि नै भारतीय राष्ट्रपतिको भ्रमण गराउने, नेपालको परराष्ट्र मामिला भारतलाई सुम्पने र नेपालको आन्तरिक मामिलामा भारतलाई पनि साझेदार बनाउने काममा दाहाल सरकारले महत्वपूर्ण योगदान दिएको छ । तर, नेपालको हित अनुरुप चीनसँग भएका सम्झौताहरुलाई टार्ने र कार्यान्वयनमा ढिलाइ गर्ने कामको अगुवाई उपप्रधानमन्त्री निधिले गर्दै आएका छन् ।

 

यसमा तपाईको प्रतिक्रिया