यस्तो छ अप्रत्यासित मतपरिणाम संगै ट्रम्प राष्ट्रपति मा बिजयी हुनुका मुख्य ४ कारणहरु

गएको २१ मार्चमा वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलन थियो। बीचको सिटबाट कालो वर्णकी एउटी महिलाले प्रश्न सोध्न हात उठाइरहेकी थिइन्। प्रश्न सोध्ने पालो पाउनु मुश्किल थियो। पालो नआउँदै ती महिला जरुक्क उठिन्। छातीमा ‘मिडिया’ लेखेको ब्याज लगाएकी उनले बाँकी धेरै पत्रकारको प्रश्नलाई ‘ओभर टेक’ गरिन्।

‘मेरो नाम एलिसा हो।’

उनले थपिन् ‘पूर्व आर्मी भेट्रान हुँ। सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलामा बाँचेकी जिउँदो पात्र पनि हुँ। र, ब्लग लेख्न रुचाउँछु।’

नामसँगै लामो परिचय जोडिन थालेपछि ट्रम्प हतारिए र हात तेस्र्याए। ती महिलाको स्वरलाई उछिन्दै झन् चर्को स्वरमा बोल्न थाले– ‘मिस, तपाईंको प्रश्न के हो?’

३८ वर्षीया एलिसाले कुनै प्रश्न सोधिनन्। बरु एक वाक्यमा आफ्नो भनाइ मात्र टुंगाइन्, ‘आई निड अ जब (मलाई जागिर चाहियो)।’

हक्की स्वभावका डोनाल्ड ट्रम्पले स्टेजमै आएर आफ्ना बारेमा सबै अमेरिकीलाई सार्वजानिक रूपमै बताइदिन एलिसालाई आग्रह गरे।

एलिसा स्टेजमा पुगिन्।

‘तपाईंको बारेमा दुई मिनेटमा बताउनुस्,’ ट्रम्पले आग्रह गरे।

उनले सबै मिडियालाई साक्षी राखेर ‘घर सजावटमा आफ्नो विशेष इच्छा रहेको’ बताइन्। र, फेरि ट्रम्पलाई सार्वजानिक रुपमै आग्रह गरिन्, ‘आई निड अ जब।’

ट्रम्पले स्टेजबाटै घोषणा गरे, ‘तलबको नेगोसियसन गर्नुस्, तपाईंको जागिर भयो।’

एलिसाले जागिर पाइन् कि पाइनन् कसैले ‘फलोअप’ गरेनन्। यो घटनाले ट्रम्पको बजार भने पिट्यो। कसैलाई खुसी बनाउन मिलाएर जवाफ दिन जान्दैनन् डोनाल्ड ट्रम्प। उनी राजनीतिज्ञ कम र व्यापारी बढी हुन्। व्यावसायिक अधिकार प्रशस्त भएको मुलुकमा व्यापारीले कसैलाई खुसी बनाइरहनु पर्दैन। त्यसैले, ट्रम्पले यो स्वभाव सिकेनन्। ठाडो, रुखो, तितो र सत्य बोल्न नहच्किने ट्रम्पलाई चुनावी अभियानका क्रममा यसले फाइदा भने पुर्याएन राजनीतिक विश्लेषक, अमेरिकी तथा विश्व सञ्चारमाध्यमले उनको तुलनामा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई राष्ट्रपतिको दाबेदारका रूपमा अगाडि सारे।

हुन त हिलारीलाई ‘म्याडम प्रेसिडन्ड’को सम्भावना देख्ने कसैले पनि तीन महिना अघिसम्म ट्रम्प उदाएर रेस चलाउन तयार पारिएको मैदानसम्म आइपुग्लान् भन्ने पनि सोचेका थिएनन्, विजयी होलान् भन्ने त टाढाको कुरा। पोटोम्याकस्थित निजी निवासमा हिलारी क्लिन्टनका भाइ टोनी रोदामले भनेका थिए, ‘मेक्सिकोमा पर्खाल लगाउँछु भन्दै हिँडिरहेको पागललाई किनारा लगाउन हामी लागिरहनु पर्दैन। टेक्सासबाट उदाउँदै गरेका रिपब्लिकनकै अर्का उम्मेदवार टेड क्रुजले नै ठीक पारिहाल्छन्।’

टेड क्रुजले त ठिक पार्न सकेनन् सकेनन्, हिलारीसमेत प्रतिस्पर्धामा पछाडि परे। ट्रम्पलाई शून्यबाट अमेरिकी राजनीतिको उच्च स्थानसम्म पुर्याउनुमा चार प्रमुख कारण देखिन्छ:

१) फ्यामिली लिगेसीको ‘फोबिया’
अमेरिकाको राजनीतिलाई कहिलेसम्म ‘फ्यामिली लिगेसी’ मा चल्न दिने भन्ने ठूलो बहस छ अमेरिकी मतदातामा। ‘फ्यामिली लिगेसी’ लाई निरन्तरता दिन नहुने बहसले स्थान लिँदै जान थालेपछि र मतदाताहरूले ‘फ्यामिली लिगेसी’लाई मन पराउन छाडेको तथ्यांक जम्मा हुन थालेपछि ट्रम्पको स्थान मजबुत हुँदै गएको थियो।

२) बेंगाजी र इमेल स्क्यान्डल
राष्ट्रपति उम्मेदवारको मनोयनमै हिलारीको निम्ति अवरोध बनेको थियो, बेंगाजी र इमेल स्क्यान्डल। ‘बेंगाजी’ लिबियाको दोस्रो ठूलो सहर हो। सेप्टेम्बर ११, २०१२ मा इस्लामिक आतंककारीहरूले अमेरिकी कूटनीतिज्ञहरूलाई तारो बनाएर गरिएको आक्रमणमा लिबियाका लागि तत्कालीन अमेरिकन राजदूत क्रिष्टोफर स्टेभेन्स लगायत चार जना अमेरिकी नागरिक मारिए। एक मात्र अमेरिकी नागरिक मारिनुले पनि अमेरिकी राजनीतिमा अर्थ राख्छ। त्यसमाथि इस्लामिक आतंककारीबाट अमेरिकी नागरिकी मारिनु राज्यको ठूलो कमजोरीका रूपमा हेर्ने गरिन्छ।

जतिबेला लिबियामा ‘बेंगाजी’ आक्रमण भयो, हिलारी क्लिन्टन राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालअन्तर्गत ‘स्टेट सेक्रेटरी’ का रूपमा कार्यरत थिइन्। त्यसैले, यो घटनामा क्लिन्टन जवाफदेही हुनुपर्यो। सुरक्षामा ध्यान पुर्याउन नसकेको, आक्रमणलगत्तै सैनिक सहायता पुर्याउन नसकेको र मिडियामा हतारले ‘बेंगाजी’ घटनालाई जानकारी गराउन खोजेकोजस्ता आरोपलाई डोनाल्ड ट्रम्पले ‘अमेरिकी सुरक्षा नीति फेल भइसकेको’ उदाहरणका रूपमा फेरि उठान गरे। र, त्यसलाई हिलारीविरुद्ध नै प्रयोग गरे।

हिलारी क्लिन्टन ‘स्टेट सेक्रेटरी’ रहेकै बेला घरको सर्भरबाट कार्यालयको प्रयोजनका लागि इमेल प्रयोग गरेको स्क्यान्डलले पनि ट्रम्पको पक्ष मजबुत बनायो।

३) आलोपालो राजनीति
१९ औं शताब्दीमा अमेरिकामा सक्रिय रहेको राजनीतिक पार्टी ‘विग’ ले सम्हालेको राष्ट्रपतिको तीन कार्यकालबाहेक अहिलेसम्म अमेरिकी राजनीति आलोपालोजस्तै गरेर चलेको छ। डेमोक्रेट र रिपब्लिकनले चाहेर आलोपालो भएको होइन। एउटा कार्यकालमा रिपब्लिकनसँग मतदाताको तिक्तता बढ्छ र उनीहरू डेमोक्रेटलाई विजयी बनाउँछन्। फेरि अर्को कार्यकालमा डेमोक्रेटसँग तिक्तता बढ्छ र रिपब्लिकनलाई जिताउँछन्।

हिलारी क्लिन्टनका पति बिल क्लिन्टन राष्ट्रपति हुनुभन्दा अगाडि रिपब्लिकनबाट जर्ज एच बुस राष्ट्रपति थिए। गल्फ र इराक युद्धबाट आजित अमेरिकी मतदाता परिवर्तन चाहन्थे। एक कार्यकालमै जोर्ज एच बुस बाहिरिएपछि डेमोक्रेटका तर्फबाट बिल क्लिन्टनको उदय भयो। दुई कार्यकालपछि फेरि मतदाता जर्ज एच बुसका छोरा जर्ज डब्लु बुसतिर आकर्षित भए। उनको दुई कार्यकालपछि पालो फेरि डेमोक्रेटतिर मोडियो। राष्ट्रपति बाराक ओबामा दुबै कार्यकाल राष्ट्रपति विजयी भए।

जसले जे भने पनि मतदाता यसपालि फेरि परिवर्तन चाहन्थे। अमेरिकी राजनीति यसैगरी चलेको छ। अमेरिकी मतदाताले अँगाल्दै आएको आलोपालो नेतृत्वलाई विश्लेषण गर्ने हो भने, यसपालि पालो रिपब्लिकनकै थियो।

४) आप्रवासीको मताधिकार खोई?
अवैधानिक रूपमा बसेकाहरूलाई निकाल्नेजस्ता चर्का नाराले डोनाल्ड ट्रम्पको ‘टिआरपी’ घटेको थियो। पक्कै लाखौको संख्यामा रहेका अवैधानिकले ट्रम्पलाई मन पराउँदैनन्। तर, चर्को सुनिने उनीहरूको आवाजले बाहिरबाट हेर्दा हिलारीलाई फाइदा पुगेजस्तो देखिए पनि प्रत्यक्ष रुपमा फाइदा थिएन।

ट्रम्पलाई मन नपराउने र चर्को स्वरमा उफ्रिन खोज्नेहरूसँग उफ्रिने अधिकार त छ तर मताधिकार छैन। राजनीतिमा ‘भोट डज म्याटर’। ग्रिन कार्ड भएकाहरूले मताधिकार प्रयोग गर्न पाउँदैनन्, तर चुनावी अभियानमा भाग लिन पाउँछन्। चर्को विरोधमा ओर्लेका आप्रवासीहरूले मताधिकार प्रयोग गर्न नपाएपछि त्यसको फाइदा डोनाल्ड ट्रम्पलाई नै भयो।

यसमा तपाईको प्रतिक्रिया