सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भयो, प्रतिरक्षा गर्नुस्: प्रधानमन्त्री दाहाल

काठमाडौँ, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समयमा सरकार र पार्टीविरुद्ध चौतर्फी हमला भएकाले त्यसको प्रतिरक्षा गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी)ले यहाँ आज आयोजना गरेको ‘अगुवा प्रशिक्षण कार्यक्रम’मा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका उहाँले सामाजिक सञ्जालमार्फत विस्तारैविस्तारै माओवादी सिद्धान्तविरुद्ध नै प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले सामाजिक सञ्जाल र केही मिडियामार्फत हामीमाथि आक्रमण र घेराबन्दी भइरहेको छ । त्यसैले पार्टीको नेतृत्व र सरकारले गरेका राम्रा कामको प्रतिरक्षा गर्न युवा विद्यार्थीले भूमिका खेल्नुपर्छ ।”

mao-student

सो अवसरमा उहाँले कार्यकर्ताले राखेको जिज्ञासाको जवाफ दिँदै गरिबी निवारणका निम्ति सरकारले अभियान थालेको जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको क्रान्तिकारी चरित्रमा स्खलन, प्रदूषण र भ्रष्टीकरण भएको बताउँदै पुनःएकीकरण र रुपान्तरण गर्नुपर्ने धारणा राख्नु भयो ।

अर्का नेता रामबहादुर थापाले देशमा नयाँ कम्युनिस्ट पार्टीको अझै आवश्यकता रहेको औँल्याउनुभयो । अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्नो सङ्गठनले राजनीतिक र शैक्षिक दुवै मुद्दा सँगसँगै उठाउने बताउनुभयो

 

यसमा तपाईको प्रतिक्रिया